प्रहार समाचार । तनहुँ, २९ मंसिर २०८२ सोमबार । भौतिक पूर्वाधार, ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानबीच गाउँपालिकाको समग्र विकासका विषयमा विस्तृत छलफल सम्पन्न भएको छ।

विकास निर्माण लगायतको अनुगमनक क्रममा तनहुँका विभिन्न परियोजनाको अबलोकन पछि आँबुखैरेनी गाउँपालिकामा हिंजो भएको भेटवार्तामा संघीय सरकार र स्थानीय तहबीच सहकार्य बढाउँदै विकास आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषय केन्द्रमा राखिएको थियो ।
छलफलका क्रममा संघीय सरकारबाट विनियोजित बजेटको समयमै कार्यान्वयन, योजना छनोट र अनुगमनलाई थप व्यवस्थित बनाउने विषयमा सकारात्मक सहमति जुटेको छ। साथै आँबुखैरेनी गाउँपालिका–५ नम्बर वडा जोड्ने जिर्ण पुल विस्थापित गरी आधुनिक आर्क ब्रिज निर्माण र लामो समयदेखि प्रतिक्षामा रहेको घुमाउने पुल निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाउने विषयमा समेत स्पष्ट छलफल भएको पालिकाले जनाएको छ ।

त्यस अवसरमा मन्त्री घिसिङले स्थानीय आवश्यकताका आधारमा पूर्वाधार विकासलाई गति दिन संघीय सरकार प्रतिबद्ध रहेको बताए। उनले जनजीवनसँग प्रत्यक्ष जोडिएका पुल, सडक र शहरी पूर्वाधारका आयोजना ढिलाइ नगरी अघि बढाउन मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग गरिनेमा जोड दिए।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले संघीय सरकारसँगको समन्वयले आँबुखैरेनीको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरे। उनले दीर्घकालीन विकासलाई ध्यानमा राखी गुणस्तरीय पूर्वाधार निर्माण, पारदर्शी बजेट कार्यान्वयन र स्थानीय जनताको अपेक्षा पूरा हुने योजनामा जोड दिँदै संघीय सरकारको सक्रिय सहयोग अपेक्षित रहेको बताए।




























