प्रहार समाचार । काठमाडौँ, २२ मंसिर २०८२ आइतबार । १३औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन नेपाली पौडीमा ऐतिहासिक उपलब्धि जोडिएको छ। शनिबार सुरु भएको प्रतियोगितामा पौडीबाज कल्किन श्रेष्ठ, सौर्यनबहादुर सिंह र इरभिन श्रेष्ठले आ–आफ्नो इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गर्दै पहिलो दिनलाई नै रोमाञ्चक बनाइदिए।

सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा जारी प्रतियोगितामा जेम्सका कल्किनले १५०० मिटर फ्रिस्टायलमा १७ मिनेट ५.६४ सेकेन्ड समय निकाल्दै नासिर याहा हुसेनको पाँच वर्ष पुरानो कीर्तिमान भंग गरे। त्यस्तै, नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठले २०० मिटर फ्रिस्टायलको हिट चरणमै १ मिनेट ५६.२७ सेकेन्ड समय निकाल्दै नयाँ कीर्तिमान बनाए। जेम्सका सौर्यनबहादुर सिंहले १०० मिटर बटरफ्लाइमा ५८.६४ सेकेन्डमा दूरी पार गर्दै अजलकाजी ताम्राकारको कीर्तिमान तोडे। पहिलो दिनमै पुरुष र महिलातर्फ गरी १४ स्वर्ण पदकको छिनोफानो भएको थियो ।
प्रतियोगितामा आर्मी, पुलिस, एपिएफ र जेम्स क्लबका खेलाडीबीच कडा प्रतिस्पर्धा देखियो। पुरुषतर्फ कल्किन, इरभिन र सौर्यनले कीर्तिमान बनाउँदा महिलातर्फ आर्मीकी मिखा थापा दोस्रो दिनको मुख्य आकर्षण भइन्। उनले ४०० मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र ५० मिटर फ्लाई गरी तीन स्वर्ण बटुलेर उत्कृष्ट प्रदर्शन गरिन्। दिनभर भएका ५० मिटर फ्लाई, २०० मिटर ब्रेष्टस्ट्रोक, १०० मिटर बटरफ्लाई र ४×५० मिटर फ्रिस्टायल रिलेमा आर्मी, पुलिस र एपिएफले आ–आफ्नो दबदबा कायम राखे। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले उद्घाटन गरेको प्रतियोगितामा ३१ स्वर्णका लागि १८३ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्।



























