प्रहार समाचार । काठमाडौँ, २१ मंसिर २०८२ आइतबार । प्रतिनिधिसभा सदस्य निर्वाचन अब ८८ दिन बाँकी रहँदै आयोगले तयारीलाई द्रुत गतिमा अघि बढाएको छ । आगामी फागुन २१ गते हुनेगरी समयसीमा टुंगो लगाइएपछि आयोगले समानुपातिकतर्फको प्रक्रिया औपचारिक रूपमा आजदेखि सुरू गरेको हो।

आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले आवेदन दिने समयसारिणी लागू भएको छ। दलहरूले पेस गर्ने आवेदनको सूची यसै मंसिर २४ गते सार्वजनिक गरिनेछ।
आगामी पुस १३ र १४ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म दलहरूले समानुपातिकतर्फको बन्द–सूची दर्ता गर्नुपर्ने छ। माघ ३० गते बन्द–सूचीको अन्तिम रूपमै प्रकाशन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।
यति मात्र होइन, प्रत्यक्षतर्फको निर्वाचन तयारी पनि आयोगले एकसाथ अघि बढाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन आगामी माघ ६ गते दर्ता गरिनेछ। सोही दिन प्रारम्भिक नामावली पनि प्रकाशन हुनेछ। माघ ७ गते विरोध–उजुरी दर्ताको समय तोकिएको छ भने माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।
माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समयसीमा रहेको छ। सोही दिन अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ। निर्वाचन नजिकिँदै जाँदा दलहरूले आन्तरिक रूपमा उम्मेदवार छान्ने प्रक्रिया तीव्र बनाएका छन्। आयोगले तोकेको कडाइका साथ समयसीमाभित्र सबै तयारी पूरा हुने अपेक्षा गरिएको छ।



























