प्रहार समाचार । तनहुँ, १९ मंसिर २०८२ शुक्रबार । तनहुँमा पहिलोपटक सदरमुकाम बाहिर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएपछि भिमाद रंगशाला बिहीबार देखि विद्यार्थी खेलाडीहरूको उत्साहले भरिएको छ।

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा भिमाद नगरपालिका–६ स्थित रंगशालामा सत्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। विगतमा सदैँ दमौलीमै सीमित रहने प्रतियोगिता यस वर्ष भिमादमा सारिएपछि स्थानीयवासीदेखि सहभागी विद्यालयसम्म उत्साहित बनेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलले नैतिकता र अनुशासन दुवै विकास गर्ने उल्लेख गर्दै खेलाडीलाई स्वच्छ र मर्यादित प्रतिस्पर्धामा जोड दिए।

भिमाद नगर प्रमुख दधिराज सुवेदीले खेलकुद पूर्वाधार तथा गतिविधिमा नगरपालिकाले निरन्तर लगानी गर्ने बताउँदै प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरे। त्यस्तै, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले खेलकुदले शारीरिक मात्र नभई मानसिक सुदृढतामासमेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। प्रतियोगितामा जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाबाट करिब ५ सय ५० विद्यार्थी सहभागी छन्। खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले पहिलोपटक सदरमुकाम बाहिरै प्रतियोगिता विस्तार गरिएको बताउँदै यसले स्थानीय तहमा खेलकुदको पहुँच बढाउने विश्वास व्यक्त गरे।

प्रतियोगिता अन्तर्गत १,५०० मिटर, ४०० मिटर, १०० मिटर दौडसहित सटपुट, लङ्जम्प, ज्याभलिन थ्रो लगायतका विभिन्न इभेन्टमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्।



























