हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

तनहुँको शुक्लागण्डकीमा ‘जीवन उपयोगी सिप’ सत्रको संयुक्त अनुगमन

प्रहार समाचार । तनहुँ, ४ मंसिर २०८२ बिहीबार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालित बालिका शिक्षा कार्यक्रमको प्रभावकारीता परीक्षण गर्न शुक्रबार विभिन्न निकायका प्रतिनिधिहरूले संयुक्त रूपमा विद्यालयस्तरीय अनुगमन गरेका छन । पञ्चमुनिदेव माध्यमिक विद्यालयमा भएको निरीक्षणमा सहभागी सरोकारवालाहरूले कार्यक्रमले बालिकाको आत्मविश्वास, व्यवहारिक सीप र अध्ययन–अनुशासनमा देखिएको परिवर्तनले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।

सूर्योदय क्लब स्याङ्जाको सञ्चालन तथा व्यवस्थापन र रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा शुक्लागण्डकीका ८ विद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। अनुगमन टोलीमा मेयर कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, शाखा प्रमुखहरू, जनप्रतिनिधि तथा रुम टु रिड र सूर्योदय क्लबका प्रतिनिधि सहभागी थिए ।

सत्र अवलोकनपछि विद्यार्थी, शिक्षक, पालिकाका पदाधिकारी र कार्यक्रम प्रतिनिधिबीच अन्तर्क्रिया गरिएको थियो। बालिकाहरूले जीवन उपयोगी सिप शिक्षा सत्रले व्यवहारिक जीवन व्यवस्थित बनाउन, आत्मविश्वास वृद्धि गर्न र पढाइमा समेत टेवा पुगेको बताए ।

अनुगमनपछि बसेको परियोजना सल्लाहकार समिति बैठकमा मेयर पण्डितले वर्तमान समाजमा परामर्श र जीवन उपयोगी सिपको आवश्यकता झनै बढेको उल्लेख गर्दै मानव पुँजी विकासका लागि यस्तो कार्यक्रम महत्त्वपूर्ण भएको बताए। उनले बालिका शिक्षा कार्यक्रम नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।

वडा अध्यक्षहरू बुद्धिबहादुर थापा, दीर्घबहादुर थापा, राजु वाग्ले र राजेन्द्र भट्टराई क्षेत्रीले सिप सत्रमा सहभागी र असहभागी विद्यार्थीबीच देखिएको फरक, सामाजिक सञ्जालको प्रभाव र परियोजना ग्रामीण क्षेत्रमा केन्द्रित हुनुपर्ने आवश्यकता जस्ता विषय उठाए ।

कार्यक्रममा सूर्योदय क्लबका प्रतिनिधि तथा रुम टु रिडका कार्यक्रम अधिकारीहरूले परियोजनाका गतिविधि, लक्ष्य र प्रभावबारे जानकारी दिँदै सहभागीहरूको जिज्ञासाको सम्बोधन गरे ।

रुम टु रिडको सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालन भइरहेको जीवन उपयोगी सिप कार्यक्रमका माध्यमबाट शुक्लागण्डकीका ८ विद्यालयका ६९१ बालबालिका लाभान्वित भएका छन्। कार्यक्रमअन्तर्गत व्यक्तिगत तथा समूहगत मेन्टोरिङ, विद्यालय–परिवार–समुदाय संलग्नता, सामग्री सहयोग लगायतका क्रियाकलाप पनि निरन्तर सञ्चालनमा छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button