प्रहर समाचार । तनहुँ, ४ मंसिर २०८२ बिहीबार । तनहुँको ऋषिङ्ग गाउँपालिकामा सुरु भएको सातौँ गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय अध्यक्ष कप तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ धमाधम चलिरहेको छ। शुक्ला मा.वि., ऋषिङ्ग–१ को खेलमैदान हिंजो देखि सुरु भएको प्रतियोगिताले रेलाडी, अभिभावक र दर्शकले भरिँदै जान थालेपछि गाउँ नै खेल–उत्साहमा डुबेको छ ।

गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गर्दै प्रतियोगिताले स्थानीय विद्यालयबीच खेलकुदमैत्री सम्बन्ध विस्तार गर्ने र विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन समारोहमा खेलकुदलाई शैक्षिक विकासको अविभाज्य हिस्सा बताउँदै प्रतियोगिताबाट ग्रामीण क्षेत्रका विद्यार्थीले पनि ठूलो अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरे।

उपाध्यक्ष गिनुमायाँ थापाले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा मद्दत गर्ने भन्दै सहभागी सबैलाई उत्साहपूर्वक प्रतिस्पर्धा गर्न प्रेरित गरिन्। ११ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगिताबारे आयोजक विद्यालय शुक्ला मा.वि.का प्रधानाध्यापक केशर थापा मगरले स्थानीय योगदान र विद्यालयहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताए।

























