प्रहार समाचार । काठमाडौँ, ३ मंसिर २०८२ बुधवार । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) आज रोमाञ्चक मोडमा प्रवेश गर्न लागेको छ, जहाँ घरेलु जमीनमै दमदार सुरुआत गरिसकेको काठमाडौँ गोर्खाज र उपविजेता दर्जा लिएर मैदान उत्रँदै सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। उद्घाटन खेलमै जनकपुर बोल्ट्सलाई हराउँदै लयमा आएको काठमाडौँ आज दोस्रो जितको खोजीमा छ भने सुदूरपश्चिम यो सिजनलाई जितसँगै सुरु गर्ने लक्ष्यमा दह्रो तयारीका साथ उत्रन तैयार छ ।

काठमाडौँ गोर्खाजको नेतृत्व करण केसीले गरिरहेका छन्। उनको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, गेरहार्ड इरासमस, मिलिन्द कुमार, राशिद खानदेखि लिएर विकेटकिपर जोन सिम्पसन र रिकार्डो भास्कोनसेलोसजस्ता बलिया नाम सामेल छन्। प्रशिक्षक मोन्टी देशाइको रणनीतिले समेत काठमाडौँलाई थप आत्मविश्वास दिएको देखिन्छ ।
उता, सुदूरपश्चिम पक्षलाई राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्दै आएका छन्। विनोद भण्डारी, जोश ब्राउन, क्रिस लिन, अविनाश बोहरा र स्कट कुगेइलिनजस्ता खेलाडीको उपस्थिति सुदूरपश्चिमलाई बलियो बनाएको छ। प्रशिक्षक जगत टमाटाको मार्गदर्शनमा तयार रहेको यो टोली काठमाडौँको विजयी यात्रामा रोक लगाउने दाबीका साथ मैदान प्रवेश गर्दैछ। मंसिर १ देखि जारी प्रतियोगितामा आठ टोली भिडीरहेका छन्, र आजको खेल भने दुवै पक्षका लागि सिजनको ‘टोन सेट’ गर्ने महत्वपूर्ण अवसर मानिएको छ।



























