प्रहार समाचार । काठमाडौँ, ३० कात्तिक २०८२ आइतवार । काठमाडौं दरबारमार्गस्थित ट्रस्टको जग्गा लिजमा दिने प्रक्रियामा व्यापक अनियमितता भएको आशंकाबीच नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । ट्रस्टको जग्गा भाडा सम्झौतामा गम्भीर अनियमितता भएको सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार साँझ उनलाई नियन्त्रणमा लिएको हो ।

सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार, कार्कीले यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिसँग ३० वर्षका लागि गरिएको लिज सम्झौता प्रक्रियामा कानुनी र प्रशासनिक त्रुटि गराएका भन्ने आरोपमा अनुसन्धान अघि बढाइएको छ ।
यसअघि सोही लिज सम्झौतामा सहहस्ताक्षर गर्ने तत्कालीन सहसचिव लेखबहादुर कार्की पनि पक्राउ परिसकेका छन् । ट्रस्टको मूल्यवान् जग्गा दीर्घकालीन भाडामा दिने क्रममा सरकारी स्वार्थविपरीत निर्णय गरिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ, र घटनालाई गम्भीर आर्थिक अनियमितताका रूपमा हेरेर अनुसन्धान तीव्र बनाइएको छ ।



























