• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, २७ कात्तिक २०८२ बिहीवार । परदेशमा रहेर पनि मातृभूमिप्रतिको माया देखाउने उदाहरण बनेका छन् क्व्होलासोथार गाउँपालिका–८ घिचे निवासी रन बहादुर गुरुङ। आफ्नी स्वर्गीय श्रीमती प्रिती गुरुङको सम्झनामा उनले श्रीमतीकै जन्मथलो क्व्होलासोथार–३ फुल्म्रोस्थित बस विसौनीमा आकर्षक प्रतिक्षालय निर्माण गराएका छन् ।

४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालयका लागि स्थानीय धनमाया गुरुङले आफ्ना स्वर्गीय श्रीमान् पञ्चबहादुर गुरुङको नाममा ५ आना जग्गा दान गरेकी हुन्। यात्रुहरूलाई वर्षा र घाममा विश्राम लिन सहज होस् भन्ने उद्देश्यसहित प्रतिक्षालय निर्माण गरिएको रन बहादुर गुरुङले प्रहार समाचारलाई जानकारी दिए।
२०७६ जेठ ५ गते निधन भएकी प्रिती गुरुङको सम्झनामा निर्माण गरिएको यो प्रतिक्षालयले यात्रु तथा गाउँबेसी गर्ने स्थानीयहरूलाई ठूलो सुविधा पुग्ने स्थानीयवासीहरूले बताएका छन्।
हाल हङकङमा रोजगारीका शिलशिलामा रहेका रन बहादुर गुरुङले श्रीमतीको सम्झनालाई स्थायी बनाउँदै गाउँका मानिसलाई सेवा पुगोस् भन्ने सोचका साथ प्रतिक्षालय निर्माण गराएको बताए।



























