प्रहार समाचार । तनहुँ, २० कात्तिक २०८२ बिहीवार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सातौं गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी कार्तिक २८ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुने प्रतियोगिता रामशाह माध्यमिक विद्यालय, आँबुखैरेनी–३, तनहुँमा हुनेछ।

प्रतियोगितामा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूले सहभागिता जनाउने गाउँपालिकाले जनाएको छ। विद्यालयहरूले खेलाडीको विवरण, फोटो र जन्मदर्तासहितको फाराम कार्तिक २५ गतेभित्र पेश गर्नुपर्नेछ।
प्रतियोगितामा भलिबल, १०० मिटरदेखि ३००० मिटरसम्मका दौड, हाईजम्प, लङजम्प, शटपुट, ट्रिपल जम्प, ज्याभलिन थ्रो, रिले दौडसहितका ट्रयाक र फिल्डका विविध खेल विधा समावेश गरिएको छ। प्रत्येक विद्यार्थीले एक ट्रयाक र दुई फिल्ड वा दुई फिल्ड र एक ट्रयाक खेलमा मात्र सहभागी हुन पाउने छन्। खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) अनुसार सञ्चालन गरिने जनाइएको छ।
गाउँपालिकाका अनुसार सबैभन्दा बढी स्वर्ण पदक जित्ने विद्यालयले यस वर्षको “राष्ट्रपति रनिङ शिल्ड” प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइनेछ, जसका लागि खेलाडीको जर्सी, यातायात, खाना र आवासको सम्पूर्ण व्यवस्था गाउँपालिकाले गर्ने बताइएको छ। खेलाडीहरूले अनिवार्य रूपमा खेल पोसाक र जुत्ता प्रयोग गर्नुपर्ने, नाङ्गो खुट्टामा खेल्न नपाइने, र आयोजकको निर्णय नै अन्तिम हुने नियम पनि लागू गरिनेछ।
प्रतियोगिताको उद्घाटन समारोह कार्तिक २८ गते बिहान १०:३० बजे हुने छ। सो अवसरमा विद्यालयहरूले आफ्ना खेलाडीहरूलाई विद्यालयको झण्डा र व्यानरसहित ट्र्याकसुटमा मार्चपासका लागि उपस्थित गराउनुपर्नेछ। गाउँपालिकाले सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालालाई विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न, सहभागिता बढाउन र खेलमैत्री वातावरण निर्माण गर्न सहयोग पुर्याउन अनुरोध गरेको छ।



























