हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँको ऋषिङ गाउँपालिकामा जातीय विभेद अन्त्यका लागि सचेतनामूलक अभियान

प्रहार समादार । तनहुँ , १८ कात्तिक २०८२ मङ्गलवार । ऋषिङ गाउँपालिकामा जातीय भेदभाव तथा छुवाछूत अन्त्यका उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौंको सहयोगमा आयोजित उक्त कार्यक्रममा दलित अधिकार, कानुनी व्यवस्था र सामाजिक समानताको विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले आयोगको गठन विधि, काम–कर्तव्य र अधिकारबारे जानकारी दिँदै दलितप्रति समाजको दृष्टिकोण सकारात्मक नबनेसम्म विभेद अन्त्य सम्भव नहुने बताए । उनले स्थानीय तहले कानुनी तथा सामाजिक रूपमा विभेद विरोधी अभियानलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई जातीय विभेदमुक्त क्षेत्र बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । अध्यक्ष क्षेष्ठले जातीय आधारमा मानिसबीच हुने भेदभावलाई लज्जास्पद र अस्वीकार्य बताउँदै सबै समुदायबीच आपसी सम्मान र समानता कायम गर्न आग्रह गरे । उपाध्यक्ष गिनुमाया थापाले समाज परिवर्तनका लागि दलित समुदायको मात्र प्रयास पर्याप्त नभई सबै जात, वर्ग र तहबीच सहकार्य आवश्यक रहेको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दीपेन्द्र पाण्डे, दलित अगुवा डम्बरबहादुर विक, कार्यपालिका सदस्य दिलबहादुर नेपालीलगायतले जातीय विभेद अन्त्यका उपाय र स्थानीय तहको भूमिकाबारे धारणा राखेका थिए। कार्यक्रममा ऋषिङ गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, दलित महिला जनप्रतिनिधिहरू र विभिन्न समुदायका सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विभेदमुक्त समाज निर्माणका लागि निरन्तर जनचेतना र व्यवहारिक सुधार आवश्यक रहेको निष्कर्ष निकालेका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button