प्रहार समाचार । काठमाडौँ , १६ कात्तिक २०८२ आइतवार । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’ क्रमशः कमजोर बन्दै गए पनि यसको अवशिष्ट प्रभावले हिमाली र पहाडी क्षेत्रहरूमा अझै हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भागमा मौसम स्थिर बन्दै गए पनि उच्च भू–भागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव अझै केही ठाउँमा सक्रिय रहेको कारण पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको हो। मधेस र तराई क्षेत्रमा भने हावापानी सामान्य र आकाश प्रायः सफा रहने अनुमान गरिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने र साँझतिर केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। राति भने अधिकांश स्थानमा मौसम सफा रहनेछ। मौसमविद्हरूका अनुसार, ‘मोन्था’ आँधी कमजोर बनेपछि तत्काल ठूलो प्रभावको जोखिम त हटेको छ, तर हिमाली भू–भागमा स–साना मौसमी गतिविधि केही दिनसम्म रहिरहने सम्भावना कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



























