प्रहार समाचार । तनहुँ, १४ कार्तिक २०८२ शुक्रवार । तनहुँको भानु नगरपालिका–७ मा रहेको प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा कार्तिकको दोस्रो मंगलबार भक्तजनको असाधारण भीड देखिएको छ। भक्तिभावले ओतप्रोत श्रद्धालुहरूले फूलका डोली, पञ्चैबाजा र नाचगानसहित मन्दिरमा पूजाअर्चना गर्दै मनोकामना व्यक्त गर्दछन् । सोही अवसरमा भक्तजनले चढाएको भेटीबाट एकै दिन दुई लाख ५५ हजार २ सय रुपैयाँ संकलन भएको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

उक्त दिन ८६ वटा फूलका डोली भित्रिएका थिए र करिब ८ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए। दान तथा भेटीबाट संकलित रकम खर्च कटाएर मन्दिर संरक्षण र विकासका काममा खर्चिने छ ।
थानीमाई मन्दिरमा कार्तिक र माघ महिनामा विशेष मेला लाग्ने परम्परा छ। सोमबार सत्यनारायण पूजा गरी डोली तयार पार्ने र मंगलबार मन्दिरमा चढाउने धार्मिक परम्परा रहिआएको समितिका सचिव हर्कबहादुर थापाले बताए। उ
यस वर्ष थानीमाई मन्दिरमा तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट ८, पोखराबाट ४ तथा नवलपरासी र काठमाडौँबाट एक÷एक गरी ८६ वटा फूलका डोली ल्याइएका थिए। भक्तजनहरूले फूलका डोली र पञ्चैबाजासहित मन्दिर वरिपरि तीन पटक परिक्रमा गरी थुम्कास्थित देवलमा तोरण बाँध्ने र त्यसपछि मन्दिरभित्र पूजा गर्ने परम्परा पालना रहेको छ । ग
समुद्री सतहबाट करिब १,२०० मिटर उचाइमा अवस्थित थानीमाई मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायतका दृश्यहरू स्पष्ट देख्न सकिन्छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको यो मन्दिर अहिले पुनर्निर्माण भई पहिलेभन्दा आकर्षक र सुदृढ रूपमा पुनःस्थापित भएको समितिले जनाएको छ।
सडक निर्माणसँगै पछिल्ला वर्षहरूमा थानीमाई मन्दिरमा धार्मिक पर्यटकहरूको चाप उल्लेख्य रूपमा बढेको छ। भक्तजनहरू फूलका डोली र बाजागाजासहित नाचगान गर्दै मन्दिर पुग्ने, पूजाअर्चनापछि मनोकामना पूरा भएको भन्दै पुनःडोली चढाउने परम्परा निरन्तर रहिआएको छ।
धार्मिक आस्था, सुन्दर वातावरण र ऐतिहासिक पृष्ठभूमिका कारण थानीमाई मन्दिर तनहुँ मात्र होइन, गण्डकी प्रदेशकै आकर्षक धार्मिक गन्तव्य बन्दै गएको छ। समितिका अध्यक्ष थापा मगरले भने, “थानीमाईमा आउने भक्तजनहरूको आस्था हरेक वर्ष बढ्दै गएको छ। भेटी संकलन पनि यसैको प्रतिफल हो, जुन मन्दिरको संरक्षण र विकासमा प्रयोग हुनेछ।”




























