प्रहार समाचार । काठमाडौँ , १३ कात्तिक २०८२ बिहीवार । आगामी २४ घण्टाभित्र देशका विभिन्न भागमा भारी वर्षा र हिमपातको पूर्वानुमान गरेको छ। बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपात हुने र कोशी, मधेश, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग , मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसै क्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशका तीन दर्जनभन्दा बढी जिल्लालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिइएको छ।
सतर्क रहन भनिएका जिल्लाहरूमा कोशी प्रदेशका ताप्लेजुङदेखि ओखलढुंगासम्मका १४ जिल्ला, मधेश प्रदेशका सप्तरीदेखि सर्लाहीसम्मका ८ जिल्ला, बागमती प्रदेशका काठमाडौं उपत्यकासहितका १३ जिल्ला, गण्डकी प्रदेशका गोरखा, मनाङ, मुस्ताङ र नवलपुर (पूर्व) तथा लुम्बिनी प्रदेशका नवलपुर (पश्चिम), रुपन्देही, कपिलवस्तु र दाङ रहेका छन्।
प्राधिकरणले जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न र नदी किनार तथा पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले मौसमी प्रणालीको प्रभाव शुक्रबार बिहानसम्म रहने अनुमान गर्दै नागरिकलाई मौसमसम्बन्धी सूचनामा निरन्तर ध्यान दिन अपिल गरेको छ।



























