प्रहार समाचार । पाल्पा, १२ कात्तिक २०८२ बुधवार । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा बुधबार दिउँसो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ। अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट अनियन्त्रित भई खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा–१ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको ज्यान गएको हो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनीहरूलाई जिल्ला अस्पताल पाल्पा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार गाडीमा तीन जना मात्र सवार थिए। सडक साँघुरो र घुमाउरो भएको कारण गाडी अनियन्त्रित बनेको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















