हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : भारी हिमपात र वर्षाको सम्भावना, नदीमा आकस्मिक बहावको चेतावनी

प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८२ बुधवार । देशका विभिन्न उच्च पहाडी र हिमाली भूभागमा आजदेखि मौसम असामान्य देखिने पूर्वानुमान गरिएको छ। गण्डकी, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा अहिले नै मध्यम वर्षासहित हिमपात भइरहेको छ भने कोशी र बागमतीका उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा ती क्षेत्रमा पानीको बहाव तीव्र हुने र नदी आसपासका बस्तीहरूमा सतर्कता अपनाउन सुझाव दिइएको छ ।

आज बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान छ। विशेषगरी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली र कोशी प्रदेशका पूर्वी जिल्लाहरू—सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, इलाम, मोरङ, सुनसरी लगायतका स्थानहरूमा स–साना नदी–नालामा आकस्मिक बहावको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिइएको छ।

यसैबीच, बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवात आन्ध्र प्रदेश हुँदै कमजोर हुँदै नेपालतर्फ सरिरहेको विभागले जनाएको छ। उक्त चक्रवातका कारण कोशी, बागमती र मधेश प्रदेशमा वर्षा र हिमपात तीव्र हुने सम्भावना रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूलाई सकेसम्म यात्रा नगर्न, तातो भएर बस्न र नियमित मौसमी सूचना लिएर मात्रै गतिविधि सञ्चालन गर्न अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button