प्रहर समाचार । तनहुँ, ८ कात्तिक २०८२ शनिवार । तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। शुक्रबार राति करिब ९ः३० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २० प ५२२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा ६ च ७९९१ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ब्यास–४ निवासी २७ वर्षीय सुवर्ण श्रेष्ठ र उनीकी आमा ४६ वर्षीया कल्पना श्रेष्ठ घाइते भएका हुन्। सुवर्णको दुबै खुट्टा र बाँया हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको बताइएको छ।
त्यस्तै, पछाडि सवार आमा कल्पनाको बाँया हात र ढाडमा चोट लागेर अवस्था मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ। कार चालक र गाडी प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।


















