प्रहार समाचार । काठमाडौँ, ८ कात्तिक २०८२ शनिवार । टर्कीको बोड्रम नजिक एजियन सागरमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। युरोप प्रवेशका लागि जोखिमपूर्ण समुद्री यात्रा गर्दै आएका ती आप्रवासीको डुङ्गा हिंजो डुबेको टर्कीको मुग्ला प्रान्तीय गभर्नर कार्यालयले जनाएको छ। घटनाबारे तटरक्षकलाई आपतकालीन जानकारी दिइए पनि उद्धार टोली पुग्दा अधिकांश यात्रुहरूको ज्यान गइसकेको थियो। तस्विर : साङ्केतिक

उद्धारकर्मीहरूले दुई जनालाई जीवितै फेला पारेका छन्, जसमा एक अफगानी नागरिक रहेको पुष्टि गरिएको छ। जीवितमध्ये एकजनाका अनुसार डुङ्गामा १८ जना सवार थिए र पानी पस्न थालेको करिब १० मिनेटपछि डुङ्गा डुबेको थियो। उनी पौडी खेल्दै सेलेबी टापुमा पुगेर ज्यान जोगाउन सफल भएका थिए। हेलिकप्टर र विशेषज्ञ गोताखोरहरूको टोलीले अझै बेपत्ता दुई जनाको खोजी जारी राखेको बताइएको छ।
एजियन सागर हुँदै युरोप प्रवेश गर्ने आप्रवासीहरूका लागि टर्की तट र ग्रीक टापुहरू—सामोस, रोड्स र लेस्बोस—बीचको छोटो तर खतरनाक मार्ग वर्षेनी डरलाग्दो दुर्घटनाको कारण बन्दै आएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) का अनुसार, भूमध्यसागर हुँदै युरोप प्रवेशको प्रयासमा यस वर्ष मात्रै करिब १,४०० आप्रवासीले ज्यान गुमाइसकेका छन्।
























