• बिजय अधिकारी (संवाददाता ) लमजुङ, २७ असोज २०८२ सोमवार । लमजुङको बेंसीशहर नगरपालिका–११ तिवारीडाँडाका एक बृद्धलाई सिङ्गुसले टोक्दा मृत्यू भएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार ८२ वर्षीय यज्ञनिधि तिवारीलाई धेरै ठूलो सङ्ख्याका सिङ्गुसले टोक्दा उनको निधन भएको हो । आइतवार साँझ करिब ५:३० बजे घर नजिकैको बाटोमा हिँडिरहेका तिवारीलाई सिङ्गुसले एक्कासि शरीरका विभिन्न भागमा चिलेर गम्भीर घाइते बनाएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी उनलाई बेंसीशहरस्थित प्रदेश अस्पताल पुर्याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा रिफर गरिए पनि उपचारकै क्रममा सोमबार बिहान ४:३० बजे तिवारीको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर साह तेलीले जानकारी दिए।
शाहका अनुसार सिङ्गुसको एकैचोटि चिलाइका कारण तिवारी बेहोसजस्तै भएका थिए। शवपरीक्षण चितवनमै गरिने र त्यहीँबाट परिवारले शव बुझ्ने तयारी गरिएको छ। यस्ता घटनाबाट बच्न स्थानीयलाई सर्तक रहन प्रहरीद्वारा अनुरोध गरिएको छ।






















