प्रहार समाचार । काठमाडौँ, २७ असोज २०८२ सोमवार । इजरायल-हमास द्वन्द्वका क्रममा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि भएको छ। हमासले सार्वजनिक गरेको सूचीअनुसार विपिनसहित चार बन्धकको शव रेडक्रसमार्फत इजरायली पक्षलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। इजरायली सेनाका अनुसार, सोमबारभित्रै शव फिर्ता प्रक्रिया सम्पन्न गर्ने लक्ष्यसहित रेडक्रस टोली गाजा पठाइएको हो।

विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि अपहरणमा परेका २५१ जनामध्ये एक थिए। लामो समयदेखि उनको अवस्थाबारे अन्योल रहँदै आएकोमा, आइतबार बिहान इजरायली सेनाले विपिन अब जीवित नरहेको जानकारी नेपाली राजदूतावास र परिवारलाई दिएको हो। विपिन “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत इजरायल गएका थिए।
विपिनको निधनको खबरले नेपालमा उनको परिवार शोकमा डुबेको छ। उनका दाजु किशोर जोशीले “हामीले आशा मारेका थिएनौं, तर अब वास्तविकता स्वीकार गर्नुपर्छ,” भन्दै सरकार तथा अन्तर्राष्ट्रिय संस्थालाई आभार व्यक्त गरेका छन्। नेपाल सरकारले विपिनको अवशेष यथाशिघ्र स्वदेश ल्याउने प्रक्रिया अघि बढाइने जनाएको छ।






















