हेडलाईनसमाचारप्रदेश

भीषण वर्षाको चेतावनी : पृथ्वी, नारायणगढ – मुग्लिन राजमार्गमा यात्रा नगर्न प्रशासनको संयुक्त आग्रह

प्रहार समाचार । तनहुँ, १७ असोज २०८२ शुक्रवार । चितवन, धादिङ र तनहुँ — कोत्रे–मुग्लिङ–नागढु‌ङ्गा तथा नारायणगढ–मुग्लिङ सडकखण्डमा निरन्तर पहिरोका कारण आवागमन अवरुद्ध हुने समस्या दोहोरिरहेकाले आगामी दिनहरूमा अझ बढी जोखिम बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको सम्भावना औंल्याएको छ। त्यसअनुसार, चितवन, धादिङ र तनहुँ जिल्लाका प्रशासन कार्यालयहरूले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेका छन्।

सूचनामा असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नु परे दिनको समयमा गन्तव्यमा पुग्ने गरी मात्र योजना बनाउन र रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। त्यस्तै, भारी सवारी साधनहरूलाई पनि उक्त अवधिमा सञ्चालन नगर्न अनुरोध गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखी प्रशासनले सडक पूर्णरूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले संयुक्त रूपमा उक्त अपिल गरेका हुन् । साथै, सडक तथा यातायातसम्बन्धी थप जानकारी वा आपतकालीन समन्वयका लागि सम्बन्धित जिल्ला प्रहरी र ट्राफिक कार्यालयका सूचना अधिकारीहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ। हेरौँ संयुक्त विज्ञप्ति :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button