हेडलाईनसमाचारसबै प्रदेशस्वास्थ्य

जेनजी आन्दोलनका क्रममा ३४ जनाको मृत्यु : १३ सय बढि घाइते

प्रहार समाचार । काठमाडौँ, २६ भदौ २०८२ बिहीवार । ‘जेनजी’ पुस्ता आन्दोलनका क्रममा हालसम्म ३४ जनाको ज्यान गएको पुष्ठि भएको छ भने १ हजार ३ सय ६८ जना आन्दोलनकारी तथा सुरक्षाकर्मी घाइते भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको यो विवरणले आन्दोलनका कहालीलाग्दो मानवीय क्षति भएको पुष्ठि गरेको छ। जुन अत्यान्त दुःखद् पक्ष हो ।

आन्दोलनका क्रममा देशभरका ४१ वटा अस्पतालमा उपचाररतमध्ये ३४ जनाको मृत्यु पुष्टि भएको हो। मृत्यु हुनेमध्ये सबैभन्दा बढी ८ जना काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा छन्। निजामती कर्मचारी अस्पतालमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल (विर्तामोड) मा १, विर्तासिटी अस्पतालमा १, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा २ र भेरी अस्पताल (नेपालगञ्ज) मा ५ जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ९ सय ४९ जना उपचारपछि घर फर्किसकेका छन् भने ३ सय२१ को उपचार जारी रहेको छ ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार हाल काठमाडौंस्थित निजामती कर्मचारी अस्पतालमा ४८, राष्ट्रिय ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना घाइतेको उपचार भइरहेको छ।

सरकारप्रति जवाफदेहिता र पारदर्शिताको माग :

जेनजी आन्दोलनका क्रममा भएको यो ठूलो मानवीय क्षतिपछि सरकारी संयन्त्रको भूमिका र तयारीप्रति प्रश्न उठ्न थालेका छन्। नागरिक समाज, मानव अधिकारकर्मी र चिकित्सक समूहले शान्तिपूर्ण समाधान र पारदर्शी अनुसन्धानको माग गर्दै आएका छन्।

स्वास्थ्य मन्त्रालयले मृतक तथा घाइतेहरूको विवरण सम्बन्धित अस्पतालहरूसँग समन्वय गरेर संकलन गरिएको जनाएको छ। मन्त्रालयले उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उच्च सतर्कता र सेवा निरन्तरताका लागि आह्वानसमेत गरेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button