हेडलाईनसमाचारगण्डकी

तास खेल्दै गरेका आठ जना नगदसहित पक्राउ

प्रहार समाचार । कास्की, २३ भदौ २०८२ सोमवार । पोखरा महानगरपालिका–२५ हेम्जा स्थित सुन्दरपुरी चोकमा रहेको होटल म्याग्दीमा जुवातास खेलिरहेका अवस्थामा होटल सञ्चालकसहित आठ जना पक्राउ परेका छन्। म्याग्दी जिल्ला मालिका गाउँपालिका–५ स्थायी घर भई हाल होटल म्याग्दी सञ्चालन गर्दै आएका ३३ वर्षीय धिरेन पूर्जासहित समूहलाई प्रहरीले शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद ८५ हजार ७ सय ८० रुपैयाँ र चार बुक तास बरामद गरेको छ। पक्राउ परेकाहरूले होटलको कोठा भित्र बसेर जुवा खेलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार होटल सञ्चालक पूर्जाले आफ्नो निजी होटल प्रयोग गरी जुवा खेलाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थलमा भेटिएको रकम र तासलाई प्रहरी टोलीले प्रमाणको रूपमा संकलन गरेको छ भने पक्राउ परेकाहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यस सम्बन्धमा हाल थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले जुवा तथा सट्टेबाजीलाई नियन्त्रण गर्न चाडपर्व नजिकिँदै गर्दा निगरानी थप कडा बनाइएको जानकारी दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button