प्रहार समाचार । काठमाडौँ, २२ भदौ २०८२ आइतवार । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा र पश्चिममा औसतभन्दा दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभावले नेपालको पूर्वी भूभागमा असर पारिरहेको छ।

यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो र राति देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने केही स्थानमा मध्यम वर्षा र कोशी तथा कर्णालीका पहाडमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी प्रदेशको तराईमा पनि राति केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।


























