प्रहार समाचार । काठमाडौँ, १४ भदौ २०८१ शनिवार । पछिल्ला केही दिनदेखि देशभर परेको लगातार झरी अब विस्तारै कम हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो र अस्तिको तुलनामा आज कम मात्रामा पानी पर्ने अनुमान गरिएको छ।

गएराति कास्की, गोरखा, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, नुवाकोट, पर्वत, गुल्मी, दैलेख, डडेलधुरा, कैलाली र कञ्चनपुरमा धेरै पानी परेको छ। काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।
मौसमविद् डेविड ढकालका अनुसार आज देशभरको मौसममा क्रमिक सुधार आउनेछ। तर, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा र तराईका एक–दुई ठाउँमा भने अझै मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि पहाडी भू–भागका केही स्थान र तराईका केही ठाउँमा वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
























