हेडलाईनसमाचारप्रदेश

नगर–गाउँपालिकामा ‘निमित्त’ युगको अन्त्य : मन्त्री न्यौपानेको साहसी कदम

प्रहार समाचार । काठमाण्डौ, १३ भदौ २०८२ शुक्रवार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ऐतिहासिक निर्णय लिँदै आजदेखि देशभरका गाउँपालिका र नगरपालिका ‘निमित्तविहीन’ बनाउने घोषणा गरेकी छन्। अबदेखि ती सबै पालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत पठाउने प्रक्रिया पूरा भएको छ।

यो निर्णयसँगै वर्षौंदेखि पालिकाहरू ‘निमित्त प्रमुख’ को भरमा सञ्चालन हुँदै आएको अभ्यासको पूर्णतः अन्त्य भएको छ। मन्त्री न्यौपानेले यो निर्णयलाई “सुशासन र प्रशासनिक उत्तरदायित्वतर्फको महत्वपूर्ण फड्को” भन्दै देशको सेवा गर्ने दृष्टिकोणले लिइएको बताइन्।

“सुशासनको मूल आधार प्रशासन हो, र यसलाई सुधार्न मलाई निरन्तर लागिरहनु परेको छ। मैले वाचा गरेकी थिएँ — निमित्तको चलन अन्त्य हुन्छ। आज त्यो पूरा भएको दिन हो,” मन्त्री न्यौपानेको भनाइ छ।

मन्त्री न्यौपाने आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशभर ७५३ स्थानीय तहहरूमध्ये करिब २०० वटा पालिका ‘निमित्त’ अधिकृतका भरमा चलिरहेका थिए। अब ती सबै पालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको बताइन्।

कर्मचारीलाई जिम्मेवारी, जनप्रतिनिधिलाई सहकार्यको आह्वान :

मन्त्री न्यौपानेले नयाँ जिम्मेवारी पाएका अधिकृतहरूलाई बधाई दिँदै उच्च दक्षता र इमानदारीसाथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्। त्यस्तै, पालिका प्रमुख र जनप्रतिनिधिहरूलाई पनि प्रशासनिक अधिकृतहरूसँग सहकार्य गर्न र उनीहरूको क्षमताको भरपूर उपयोग गर्न अनुरोध गरिन्।

अब उपमहानगर र महानगर पालिकाको पालो :

मन्त्री न्यौपानेले यो अभियान यहीँ रोकिने नभएर अबको चरणमा उपमहानगर र महानगरपालिकालाई पनि ‘निमित्तविहीन’ बनाउने योजना अघि बढेको स्पष्ट पारिन्। उनले यो कदम जनताको हितमा गरिएको निर्णय भएको र सबै पक्षको सहयोग, सुझाव र समर्थनको अपेक्षा रहेको बताइन्।

धेरैको माग, स्वागतयोग्य कदम :

कैयौं पालिकाका प्रमुखहरूले स्थायी प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै आएका थिए। मन्त्री न्यौपानेको यो निर्णय त्यसै मागको सम्मान र सरकारी कार्यसम्पादनमा पारदर्शिता र स्थायित्व ल्याउने दिशामा एक साहसी र स्वागतयोग्य कदम को रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button