
चाडपर्वले हर्षोल्लास ल्याउनु स्वाभाविक हो । तर, चाड–पर्व नै भड्किलोपन र आर्थिक प्रदर्शनको माध्यम बन्न थाले भने त्यसले संस्कृतिलाई जीवन्त राख्छ कि विकृत पार्छ ? नेपाली महिलाहरूको महान पर्व तीज पछिल्ला वर्षहरूमा यही प्रश्नको दोभानमा उभिएको छ । परम्परागत मौलिकता हराउँदै गएको र भोगविलास जोडिँदै गएको तीज कता डोरिँदै छ ? भन्दै प्रहार अनलाईन मिडियाका सम्पादक शंकरराज नहर्की लेख्छन् :
हरितालिका अर्थात तीज हिन्दु नेपाली महिलाहरूको महान चाड हो । यसले दिदी–बहिनीबीचको आत्मीयता, आस्था र संस्कृतिको सुन्दर पहिचान बोकेको छ । परम्परागत रूपमा तीज भनेको विवाह भएर गएकी छोरी–चेलीलाई तीज आउनु दुई चार दिन अगाडी दाजुभाइ लिनगइ ल्याउने, माइतीमा मिठा–मिठा परिकार बनाइ खुवाउने, रमाइलो गर्ने र त्यसैलाई दर खाने भन्ने प्रथा हो । साँझ पर्नासाथ गाउँभरिका दिदी–बहिनीहरू भेला भएर आफ्ना सुख–दुःख पोख्ने मौलिक तीज गीत गाइन्थे । ती गीतहरू सभ्य, सुसंस्कृत र समाजलाई सन्देश दिने खालका हुन्थे । यही मौलिक परम्पराले तीजलाई सांस्कृतिक पर्व मात्र होइन, भावनात्मक सन्तुलन र सामाजिक एकताको माध्यम बनाएको थियो ।
बदलिँदो स्वरूप र विकृति :
तर पछिल्ला वर्षहरूमा तीज पर्वको स्वरूप निकै बदलिएको छ । दर खाने नाममा एक दिनमा सीमित हुने प्रथा हराउँदै गएको छ । महिलाहरू होटल, पार्टी प्यालेसमा हजारौं रुपैयाँ खर्च गरेर दर खाने कार्यक्रम गर्न थालेका छन् । कतिपय स्थानमा त एक महिना अगाडिदेखि नै दर खाने नाममा भड्किला कार्यक्रम हुने गरेका छन् । तीजका गीत–संगीत पनि मौलिकताको सट्टा उत्ताउला, छाडा र अश्लीलतासम्म पुगेका छन् । यसले तीज गीत सुन्ने संस्कृतिलाई मात्र होइन, परिवारसँगै बसेर रमाउने वातावरणलाई समेत चुनौती दिएको छ ।
तीजमा व्रत बस्ने परम्परा र स्वास्थ्य प्रभाव :
तीज पर्वमा महिलाहरूले भगवान् शिवको आराधना गर्दै निराहार वा जलाहार व्रत बस्ने धार्मिक परम्परा छ । यसलाई अविवाहित चेलीले मनपर्ने वर पाउने, विवाहिता महिलाले परिवारमा सुख–समृद्धि र पति दीर्घायु हुने विश्वाससहित गर्ने गरिन्छ । तर, स्वास्थ्य विज्ञहरूका अनुसार लामो समय निराहार बस्दा रक्तचाप, मधुमेह, ग्यास्ट्रिक वा मिर्गौलासम्बन्धी समस्या भएका महिलामा जटिलता देखिन सक्छ । त्यसैले उमेर, स्वास्थ्य अवस्था र शरीरको आवश्यकता अनुसार व्रत गर्ने वा नदिने निर्णय लिनु उचित हुन्छ । चिकित्सकहरूले विशेषगरी गर्भवती, स्तनपान गराइरहेका वा दीर्घ रोगी महिलालाई निराहार व्रतभन्दा जलाहार वा हल्का अन्नाहार व्रत बस्न सल्लाह दिन्छन् । यसरी धार्मिक आस्थासँगै स्वास्थ्य सचेतनालाई पनि सन्तुलनमा राख्दा मात्र तीज पर्व आत्मिक र शारीरिक दुवै दृष्टिले लाभदायी हुन्छ ।
खर्चिलो तीज र सामाजिक असमानता :
तीजलाई भड्किलो बनाउन खोज्ने प्रवृत्ति अझै अर्को समस्याका रूपमा देखा परेको छ । कतिपय महिलाहरूले तीजमा महँगा गरगहना र ब्रान्डेड कपडाको प्रदर्शन गर्ने गरेका छन् । यो प्रवृत्तिले अझै पनि “विहान खाए बेलुका के खाउँ ? चाडमा मात्रै नयाँ कपडा फेर्ने बाध्यता” झेलिरहेका नेपाली महिलाहरूलाई मानसिक चोट पुर्याउने अवस्था सिर्जना गर्छ । चाड–पर्वको नाममा आर्थिक असमानता प्रदर्शन गर्नु समाजलाई विभाजन गर्ने काम मात्र हो । नेपाली उखान “घाँटी हेरी हाड निल्नु” जस्तै आफ्नै औकात अनुसार चाड मनाउनु नै सही बाटो हो ।
आधुनिक विकृति : मदिरा र भोगविलास :
पछिल्लो समय तीजका कार्यक्रममा वाइन, बियर, व्हिस्की सेवन गर्ने महिलाहरूको संख्या बढ्दो देखिन्छ । व्यक्तिगत रोजाइको कुरा भए पनि, सामूहिक रूपमा यसले के सन्देश दिन्छ भन्ने प्रश्न उठ्नुपर्ने समय आएको छ । तीज आत्मसंयम, आस्था र पवित्रताको पर्व हो । यसलाई भोगविलास र मदिरासँग जोड्नु हाम्रो मौलिक संस्कृतिलाई हानी पुर्याउने कार्य हो ।
संस्कृति जोगाउने कि बिगार्ने ?
सांस्कृतिक पर्वहरूलाई आधुनिकतासँग जोडेर रमाइलो गर्नु गलत होइन । तर, मौलिकता हराउँदै जाने, आर्थिक प्रदर्शन बढ्दै जाने र छाडा गीत–संगीतले संस्कृतिलाई विकृत पार्ने अवस्था भने चिन्ताजनक छ । चाड–पर्वको सार भनेको परिवारसँगै रमाइलो गर्ने, आत्मीयता बढाउने र संस्कृतिलाई जीवन्त राख्ने हो, अनावश्यक खर्च र प्रदर्शन होइन ।
निष्कर्ष :
ब्रत बस्ने नाममा स्वास्थमा प्रतिकुल असर पर्ने गरेर ब्रत नबस्ने, आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्ने, तीजलाई भड्किलो र खर्चालु नबनाई संस्कृतिको मौलिकता जोगाउन सके मात्र यस चाडको वास्तविक सार्थकता कायम रहन्छ । गीत–संगीत सन्देशमूलक, सभ्य र मौलिक हुनुपर्छ । समाजलाई सकारात्मक दिशातर्फ डोऱ्याउने जिम्मेवारी हरेक दिदी–बहिनी र हामी सबैको काँधमा छ । यस वर्षको तीजले हामीलाई आत्मस्मरण गराओस् – तीज केवल रमाइलोको पर्व मात्र होइन, धर्म, संस्कार र संस्कृतिको पहिचान पनि हो ।
सबै आमा, दिदी–बहिनीहरूमा २०८२ सालको तीज पर्वको मंगलमय शुभकामना ।
























