प्रहार समाचार । काठमाडौँ, ८ भदौ २०८२ आइतवार । देशभर मनसुन सक्रिय भइरहेका कारण आज दिउँसोदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।

गण्डकी, सुदूरपश्चिमसहितका पहाडी भूभागका विभिन्न स्थानमा र बाँकी तराईका केही भागमा मध्यम वर्षा हुने देखिएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गतिविधि अझै तीव्र हुने महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा गण्डकीका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने अनुमान छ। सम्भावित वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

























