व्यासहेडलाईनसमाचारगण्डकी

वेदव्यासको जन्मभूमिमा स्वागत–विदाई बोर्ड स्थापना : वैदिक परम्पराको पहिचान जगाउने पहल

प्रहार समाचार । तनहुँ, २३ साउन २०८२ शुक्रवार । बैदिक सनातन परम्पराका अमर धरोहर महर्षि वेदव्यासको जन्मभूमि व्यास नगरपालिकामा धार्मिक तथा सांस्कृतिक पहिचान उजागर गर्ने ऐतिहासिक पहलस्वरूप प्रवेश र प्रस्थान बिन्दुहरूमा स्वागत तथा विदाई बोर्डहरू स्थापना गरिएको छ।

वेदव्यास वैदिक धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानको अगुवाइमा तयार पारिएका यी बोर्डहरू गण्डकी प्रदेशसभा सांसद अशोक कुमार श्रेष्ठ र व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले संयुक्तरूपमा बिहीवार एक समारोहबीच राखिएको हो।

नगरपालिकाको पूर्वी सिमाना व्यास–१२ र बन्दीपुर गाउँपालिका–१ को सीमामा, र पश्चिम सिमाना — व्यास–५ र म्याग्दे गाउँपालिका–१ को सीमामा यी बोर्डहरू राखिएका छन्, जसले आगन्तुकहरूलाई नगरको गौरवशाली वैदिक इतिहासप्रति अवगत गराउनेछ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठ र मेयर न्यौपानेले महर्षि वेदव्यासको पवित्र जन्मभूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने यस्ता पहलहरू अत्यन्त स्वागतयोग्य भएको बताएका थिए। उनीहरूले सम्पूर्ण नागरिकलाई यस अभियानमा हातेमालो गर्न आह्वानसमेत गरे।

उक्त अवसरमा प्रतिष्ठानका संरक्षक ध्यानाचार्य जयश्रीहरि खेमराज अधिकारीले भने, “वेदव्यास हाम्रो धर्म, दर्शन र सांस्कृतिक गौरवका प्रतीक हुनुहुन्छ। उहाँलाई चिनाउने र प्रचार–प्रसार गर्ने कार्यमा हामी सधैं समर्पित छौं।”

यो अभियानले व्यास नगरपालिकालाई धार्मिक पर्यटनको एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। चार वेद, १८ पुराण जस्ता वैदिक ग्रन्थका रचयिता महर्षि वेदव्यासको योगदानलाई सम्मान गर्न गरिएको यो कार्यले समाजमा सकारात्मकता, आस्था र गौरवबोध फैलाउने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button