प्रहार समाचार । तनहुँ, ४ साउन २०८२ आइतवार । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं–१२, छिर्कनस्थित पृथ्बीराजमार्गमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ८४१३ नम्बरको हाईस माइक्रोबस आइतबार दुर्घटनामा परेको छ।

चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको र घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनापछि घाइते भएका यात्रुहरूलाई रत्नहरी अस्पताल, दमौलीमा उपचारका लागि भर्ना गरिएको छ भने चालकलाई नियन्त्रणमा लिइएको छ।
दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–६ निवासी ४० वर्षीय रुद्रबहादुर पहाडी बायाँ हातमा सामान्य चोट लागेका छ। छ तनहुँको शुक्लागण्डकी नगरपालिका–५ निवासी ३० वर्षीय रामु थापा बायाँ घुँडामा सामान्य चोटसहित घाइते भएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ निवासी ५४ वर्षीय रुद्रप्रसाद कटेल बायाँ गाला, कुम र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन्।

त्यसैगरी, गाडीका सहचालक धादिङको गंगाजमुना गाउँपालिका–२ निवासी २० वर्षीय कृष्णबहादुर तामाङ बायाँ काँधमा भित्री चोटसहित सामान्य अवस्थामा छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्थानीयहरूले तत्काल उद्धार गरेर प्रहरीको सहयोगमा घाइतेलाई अस्पताल पुर्याएका थिए।

























