प्रहर समाचार । काठमाडौँ, २० असार २०८२ शुक्रवार । देशभर हाल मनसुनी वायुको प्रभाव जारी रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मधेशबाहेक अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गएराति संखुवासभा, सिन्धुपाल्चोक र कास्कीमा भारी वर्षा मापन भएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा र बाँकी प्रदेशका केही भागमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। विशेषगरी यी प्रदेशका एक/दुई स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षासँगै हिमपात पनि हुने आशंका गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरूमा र अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। तीमध्ये कोशी, बागमती र गण्डकीका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरो सम्भावित क्षेत्र तथा पहाडी मार्ग प्रयोग गर्नेहरूलाई सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

























