हेडलाईनसमाचारप्रदेश

एसईई नतिजा एक साता भित्र : अन्तिम तयारीमा परीक्षा बोर्ड

प्रहार समाचार । काठमाडौँ, १२ असार २०८२ बिहिवार । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न अन्तिम तयारी तीव्र बनाएको छ। परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार हाल उत्तरपुस्तिकाको परीक्षण तथा सम्परीक्षण सम्पन्न भइसकेको छ र अहिले प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम तीव्र गतिमा भइरहेको छ। कर्मचारीहरू डबल सिफ्टमा खटिँदा एक साताभित्रै नतिजा सार्वजनिक गर्ने सम्भावना प्रबल देखिएको छ ।

यसअघि नतिजा असार ६ गतेभित्र प्रकाशित गर्ने कार्यतालिका तय भए पनि गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म काठमाडौँमा शिक्षकहरूले गरेका आन्दोलनका कारण प्रक्रिया ढिलो भएको हो। यद्यपि अब प्रविधिको सहयोग र कर्मचारीको निरन्तर प्रयासले गर्दा नतिजा सार्वजनिक मिति असारको तेस्रो साताभन्दा अघि नै सार्न सकिने बोर्डले जनाएको छ।

डा. भट्टराईका अनुसार सबै प्रक्रिया सुचारु रूपमा सम्पन्न भएमा छिट्टै नतिजा सार्वजनिक गर्ने सम्भावनालाई कार्यान्वयनमा ल्याइनेछ। विद्यार्थी, अभिभावक र विद्यालयहरूलाई सहज रूपमा जानकारी दिन आवश्यक तयारीहरू भइरहेको र दिनरात काम भइरहेकाले चाँडै नै औपचारिक मिति घोषणा गरिने पनि बोर्डले स्पष्ट पारेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button