प्रहार समाचार । काठमाडौँ, ११ असार २०८२ बुधवार । पतञ्जली योगपीठको नाममा गरिएको हदबन्दी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार विशेष अदालतको संयुक्त इजलासले ३५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको हो।

इजलासमा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले सो आदेश दिएको हो। आयोगले गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपालले आज अदालतमा आफैं उपस्थित भई बयान दिएका थिए। सुनुवाइका क्रममा उनका तर्फबाट पाँच र सरकारी वकिलतर्फबाट पाँच जना कानुन व्यवसायीले आ-आफ्नो पक्षमा बहस गरेका थिए। अदालतले पक्ष-विपक्षका बहस सुनेपछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि पतञ्जली योगपीठसँग सम्बन्धित १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो पुर्याएको आरोप लगाउँदै मुद्दा दायर गरेको हो। आरोपपत्रअनुसार नेपालले हदबन्दी क्षेत्रको सीमाभित्र पर्ने जग्गा पतञ्जलीलाई दिन कानुनी प्रक्रिया बाइपास गरी छुट दिने निर्णय गरेर अनियमितता गरेको दाबी गरिएको छ। आयोगले यसलाई सरकारी सम्पत्तिमा गम्भीर दुरुपयोगको रुपमा व्याख्या गर्दै मुद्दा अघि बढाएको हो























