प्रहार समाचार । काठमाडौं, ११ असार २०८२ बुधवार । हाल देशभर मनसुनी वायुको प्रभाव देखिएकाले विभिन्न प्रदेशमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गएराति ललितपुरको टीकाथली, गोदावरी, खुमलटार, काठमाडौंको बूढानीलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै, सबै प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। आज राति कोशी, कर्णाली र सुदूरपश्चिमसहित देशका अन्य भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले विशेष गरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण भिरालो र कमजोर जमिनमा पहिरोको उच्च जोखिम रहेको हुँदा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
























