प्रहार समाचार । तनहुँ, ११ असार २०८२ बुधवार । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। १ सय ४० मेगावाट क्षमताको यो आयोजना हाल निर्माणको प्रमुख चरणमा पुगेको छ। परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यो आयोजना नेपालको जलविद्युत इतिहासमै पहिलो कंक्रीट गुरुत्व बाँधयुक्त आयोजना हो, जसको मुख्य बाँध १ सय ४० मिटर अग्लो हुनेछ।

हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कंक्रीट ब्लकहरू उठिसकेका छन्। बाँध निर्माणको क्रममा मास कंक्रीटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलनमा राखिएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, “बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएको भएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको छ। अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिनेछ।”
पावरहाउस क्षेत्रको संरचनात्मक निर्माण कार्यहरू अन्तिम चरणमा पुगेको र अहिले इलेक्ट्रो-मेकानिकल उपकरणहरूको जडान कार्य सुचारु रूपमा भैरहेको जानकारी पनि प्रमुख भण्डारीले दिएका छन्।

ल
तनहुँ जलविद्युत आयोजनाको कुल अनुमानित लागत करिब ५३ अर्ब रुपैयाँ (५०५ मिलियन अमेरिकी डलर) रहेको छ। यसमा एशियाली विकास बैंक एडिब ADB, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) र युरोपियन लगानी बैंक (EIB) को सह-वित्तीय लगानी रहेको छ। आयोजनाको कार्यान्वयन संस्था नेपाल विद्युत प्राधिकरण (NEA) हो, जबकि यसको प्रवर्द्धक कम्पनी तनहुँ जलविद्युत लिमिटेड हो।

आयोजनाको निर्माण कार्य सन् २०२६ को अन्त्य (वि.सं. २०८३/८४ को अन्तिम) सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ। कोभिड–१९ महामारीलगायत विभिन्न कारणले केही समय पूर्व निर्माण ढिलो भएको भए पनि हाल कार्य तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ।

परियोजना सम्पन्न भएसँगै राष्ट्रिय प्रसारण प्रणालीमा १ सय ४० मेगावाट स्थिर विद्युत थपिनेछ, जसले गण्डकी प्रदेश मात्र होइन, समग्र नेपालकै ऊर्जा सुरक्षामा दीर्घकालीन योगदान पुर्याउनेछ। साथै, जलाशयमा पानी भण्डारण गरी आवश्यकता अनुसार ऊर्जा उत्पादन गर्ने क्षमता रहेकाले यो आयोजना पीक डिमान्डमा महत्वपूर्ण स्रोत बन्नेछ।

























