हेडलाईनसमाचारभानुगण्डकी

शिक्षा, पूर्वाधार र सामाजिक समावेशितामा केन्द्रित तनहुँको भानु नगरको ८८ करोडको बजेट

प्रहार समाचार । तनहुँ, ११ असार २०८२ बुधवार ।
शिक्षा, भौतिक पूर्वाधार विकास, कृषि र सामाजिक समावेशितामा केन्द्रित गर्दै भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८८ करोड ५९ लाख ४ हजार रुपैयाँको आय–व्यय बजेट प्रस्तुत गरेको छ। मंगलबार सम्पन्न १६ औँ नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक एवं उपप्रमुख उमा गोतामेले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेकी हुन्।

कुल बजेटमध्ये ७२ दशमलव ३ प्रतिशत अर्थात् ६४ करोड ५ लाख ४ हजार रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २७ दशमलव ७० प्रतिशत अर्थात् २४ करोड ५४ लाख रुपैयाँ छुट्याइएको छ। चालु खर्चको ठूलो हिस्सा संघीय सशर्त अनुदानमार्फत शिक्षक, स्वास्थ्यकर्मी, आयुर्वेद क्षेत्रका कर्मचारीका तलब, पोषाक तथा महँगी भत्तामा केन्द्रित गरिएको छ। आन्तरिक स्रोतबाट प्राप्त हुने ४४ करोड १५ लाख ४ हजारमध्ये चालुतर्फ ४९.९० प्रतिशत र पुँजीगततर्फ ५०.०९ प्रतिशत खर्च हुने योजना छ।

गत वर्षको नगद मौज्दात ५ करोड ५० लाख रुपैयाँलाई प्रारम्भिक मौज्दातको रूपमा समेटिएको बजेटमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी ३६ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि रूपान्तरण, आर्थिक विकास र सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजनाका लागि २ करोड १५ लाख र कृषि तथा पशुपालन क्षेत्रका लागि ३ करोड ६५ लाख ५० हजार विनियोजन गरिएको छ।

यसैगरी सुशासन र संस्थागत क्षमता अभिवृद्धि तथा कार्यालय व्यवस्थापनका लागि १५ करोड ३३ लाख र भौतिक पूर्वाधार विकासमा २४ करोड ५४ लाख छुट्याइएको छ।

जलवायु परिवर्तनको असर न्यूनीकरण, महामारी पूर्वतयारी तथा विपद् व्यवस्थापनमा ५० लाख तथा घरेलु हिंसा, जातीय र लैङ्गिक हिंसा, लागूपदार्थ दुव्र्यसन, मानव बेचबिखनजस्ता सामाजिक अपराध नियन्त्रणका लागि ५५ लाख बजेट विनियोजन गरिएको छ।

नगर उपप्रमुख गोतामेले उक्त बजेट नगरवासीहरूको समृद्धि र खुसीको साझा सपना साकार पार्नतर्फ केन्द्रित भएको बताउँदै सबै तहबीचको सहकार्यलाई मजबुत बनाउँदै पारदर्शिता र उत्तरदायित्वमा आधारित सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। नगरप्रमुख आनन्दराज त्रिपाठीले जनताको सरकार जनतामाझ रहेको अनुभूति दिलाउने गरी बजेट कार्यान्वयन गर्नुपर्ने चुनौती र अवसर दुवै रहेको उल्लेख गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button