हेडलाईनसमाचारगण्डकी

म्याग्दीलाई विभेद भएको आरोपमा गण्डकी प्रदेशसभाको रोष्ट्रममै बजेट पुस्तिका च्यातियो

प्रहार समाचार । कास्की, ९ असार २०८२ सोमवार । गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकको रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममाथि छलफलको क्रममा भौतिक पूर्वाधार मन्त्रालयबाट म्याग्दी जिल्लालाई अन्यायपूर्ण बजेट विनियोजन गरिएको भन्दै उनले आक्रोश व्यक्त गर्दै यस्तो कदम चालेका हुन्।

पूर्व भौतिक पूर्वाधारमन्त्री समेत रहेका सांसद जुग्जालीले आफ्नो गृह जिल्ला म्याग्दीलाई बारम्बार बजेटमा बेवास्ता गरिएको भन्दै यो पटक समेत साढे ३ करोड मात्र विनियोजन गरिएकोप्रति गुनासो व्यक्त गरे। “हाम्रो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस्,” भन्दै उनले आर्थिक तथा भौतिक पूर्वाधार मन्त्रीप्रति कटाक्ष गरे। उनले म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म उनीहरूलाई व्यक्तिगत रुपमा ‘घुमाउने’ व्यङ्ग्य गर्दै बजेट पुस्तिका च्यात्न सभामुखसँग अनुमति मागेका थिए।

सभामुखको अनुमति लिएर उनले रोष्ट्रममै बजेट पुस्तिका च्यातेपछि प्रदेशसभामा केही क्षण तनाबपूर्ण वातावरण सिर्जना भएको थियो। उनले बजेट पूर्वाग्रही रहेको, विकासमा समावेशी दृष्टिकोण नअपनाइएको र दुर्गम क्षेत्रको उपेक्षा भएको आरोप लगाउँदै म्याग्दीवासीको अपमान भएको उल्लेख गरे। यो घटना गण्डकी प्रदेशको बजेट निर्माण प्रक्रिया र त्यसमा देखिएको क्षेत्रीय असन्तुलनसम्बन्धी बहसलाई थप चर्काउने संकेत देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button