प्रहार समाचार । तनहुँ, ८ जेठ २०८२ बिहीवार । तनहुँको भिमाद नगरपालिका हुँदै ऋषिङ, घिरिङ गाउँपालिका हुँदै पाल्पा र नवलपरासी जोड्ने मुख्य सडक खण्डको अवस्था अत्यन्तै जर्जर बनेको छ। विशेषगरी वर्षाको समयमा सडकको सतह हिलोमय, खाल्डाखुल्डीले भरिएको र कतिपय ठाउँमा जंगलझैँ झाडीले ढाकिएको अवस्थामा छ। स्थानीयवासीहरू र यात्रुहरू दैनिकरूपमा सास्ती खेपिरहेका छन्, तर सडक मर्मततर्फ सरोकारवाला निकायको ध्यान गएको देखिदैन।

‘बस चढ्ने कि झाडी पस्ने ?’ भन्ने जस्तो अवस्था सिर्जना भएको यात्रुहरूको गुनासो छ। झाडीबीचबाट गुड्नुपर्ने बाध्यताले सार्वजनिक यातायात सेवा प्रभावित मात्र होइन, दुर्घटनाको जोखिमसमेत उच्च बनेको छ। झाडी र हिलोले ढाकिएको बाटोका कारण स्कुल जाने बालबालिका, बिरामी बोक्ने सवारी, र सागसब्जी व्यापार गर्ने किसानहरू सबै प्रभावित भएको घिरिङका स्थानिय केशर बहादुर थापाले बताए ।

स्थानीय तह, भौतिक पूर्वाधार मन्त्रालय, तथा सडक डिभिजन कार्यालयको लापरबाहीले गर्दा वर्षेनी यो समस्या झन् जटिल बन्दै गएको स्थानीयको आरोप छ। पटकपटक उजुरी, माग, र सामाजिक सञ्जालमार्फत आवाज उठाइए पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ। अबको विकल्प भनेको जनस्तरबाट दबाब सिर्जना गर्नु मात्रै रहेको उनीहरू बताउँछन्।

तस्विरहरु : विवेक श्रेष्ठ ।

























