नेपाली साहित्यमा जनभावनालाई वाणी दिने स्रष्टा हुन् गोकुल जोशी। सामाजिक न्याय, समानता र परिवर्तनको पक्षमा कलम चलाउने उनी नेपाली साहित्यमा जनकविका रूपमा परिचित छन्। उनको जन्म वि.सं. १९८७ साल जेठ ८ गते तनहुँ जिल्लाको हालको शुक्लागण्डकी नगरपालिका–११, राईपुरमा माता मनरुपा पोख्रेल र पिता हरिलाल पोख्रेलका माइला सन्तानका रूपमा भएको हो।

बाल्यकालमै पिताको निधन भएपछि आर्थिक अभावले उनलाई बाल्यवस्थामै घर छाडेर भारत जान विवश बनायो। वि.सं. २००० सालतिर भारतको सिलाङ, कलकत्ता र बम्बईका होटल तथा कार्यालयहरूमा काम गर्दै जीवन यापन गरे। यसैबीच उनले पत्रपत्रिका पढ्दै आत्मसुधार र ज्ञान प्राप्तिको बाटो समाते। यद्यपि उनको अध्ययनप्रतिको लगावले नै जागिर गुमाउनु पर्यो। तर उनले हार खाएनन्। बम्बईमा समेत काम गर्दैगर्दा कक्षा ४ सम्मको औपचारिक शिक्षा हासिल गरे।

वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि उनी नेपाल फर्किए। नेपालका विभिन्न भूभागको पैदल यात्रा गर्दै उनले देशको सामाजिक, राजनीतिक र सांस्कृतिक यथार्थको नजिकबाट अवलोकन गरे। यही अवलोकन नै उनको साहित्यको जग बन्यो। धर्मराज थापा, श्यामप्रसाद शर्मा जस्ता साहित्यकारहरूसँगको सम्पर्कले उनको साहित्यिक व्यक्तित्व अझ निखारियो।
गोकुल जोशीले नेपाली साहित्यमा प्रगतिवादी विचारधाराको सशक्त आवाज बनेर उदाएका थिए। उनले आफ्ना कविताहरूमा सामन्तवाद, विभेद र राजनीतिक विसङ्गतिहरूको विरोध गरे। गाउँ–गाउँ डुल्दै उनले गीतमार्फत जनचेतना फैलाउने अभियान चलाए। उनले लेखेको ‘रोक्ने को हो?’ कविताको अंश—
“रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा”
— आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ।
उनका अन्य कृतिहरूमा नेपाल भ्रमण कविता, नववेग, निशात्र, पूर्वी नेपाल, पूर्वी नेपालको लोकगीत आदि रहेका छन्। यस्ता रचनामार्फत उनले नेपाली साहित्यमा जनताका भावना र आवाजलाई प्रतिनिधित्व गरे। गोकुल जोशीको निधन वि.सं. २०१८ सालमा ३१ वर्षको उमेरमै भयो। यद्यपि उनको छोटो जीवनले नेपाली साहित्य र चेतनामा स्थायी छाप छोड्यो।

आजको दिन—जेठ ८ गते—गोकुल जोशीको जन्म जयन्तीको अवसरमा उनको योगदानलाई स्मरण गर्नु, विद्यार्थी पुस्तालाई चिनाउनु र साहित्यमा प्रगतिशील चेतना ब्यूँझाउनु हाम्रो साझा दायित्व हो।
किर्तिशेष जनकवि गोकुल जोशीप्रति श्रद्धासुमन !

























