हेडलाईनसमाचारगण्डकी

फुटबल स्टार सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ स्थापनासहित स्तम्भ अनावरण

  • विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, ६ जेठ २०८२, मङ्गलवार। अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा नेपाललाई गौरवान्वित बनाउँदै आएकी लमजुङकी चर्चित महिला फुटबलर सावित्रा भण्डारी (साम्बा) को सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानी खुदीपुल नजिक ‘साम्बा चोक’ नामाकरण गरिएको छ। चोकमा सावित्राको स्क्याचुसहित विशेष स्तम्भ निर्माण गरी भव्य कार्यक्रमबीच अनावरण गरिएको हो।

फुटबलर सावित्रा भण्डारीको जन्मस्थल पामचोक (वडा नं. ९) मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्तम्भको उद्घाटन गर्दै भने, “ लमजुङकी चेली सावित्राले फुटबलमार्फत नेपाललाई विश्वसामु चिनाएकी छिन्, यो हामी सबैको गौरव हो। पालिकाको मात्र नभई राष्ट्रकै गहनाका रूपमा स्थापित भएकी सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरेका हौं।”

व प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले यस्ता खेलाडीहरूले मुलुकलाई विश्वमञ्चमा चिनाउने कार्य गरिरहेको उल्लेख गर्दै राज्यले सदैव उनीहरूको सम्मान गर्नुपर्नेमा जोड दिए।

वडाध्यक्ष हरिश्चन्द्र थापाले अन्नपूर्ण पदमार्ग अन्तरगत मनाङ जाने मार्गमा रहेको खुदीबजारको यो चोकलाई साम्बा चोक नाम दिएर सावित्राको जन्मस्थानको प्रचार–प्रसारमा टेवा पुगेको बताए।

हाल फ्रान्सेली महिला फुटबल क्लब “अँ आभोँ गेँगोँ” तथा नेपाली महिला राष्ट्रिय टोलीमा अग्रपंक्तिमा खेलिरहेकी सावित्राले उक्त सम्मानबाट अत्यन्त हर्षित भएको बताइन्। “मेरो नाममा चोकको नामाकरण हुनु ठूलो गर्वको कुरा हो,” उनले भनिन्, “गाउँपालिकाको निर्णयले मलाई अझ मेहनत गर्न प्रेरणा मिलेको छ। यो अवसरका लागि अध्यक्षसहित सम्पूर्ण परिवार र स्थानीयवासीलाई धन्यवाद दिन चाहन्छु।”

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका डीएसपी दीपक पुरी, अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, सञ्चारकर्मी, स्थानीय नेतागण र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको विशेष अवसरमा सावित्राका बुवा थमबहादुर भण्डारी र आमा मुना भण्डारीलाई सम्मान गरिँदा उपस्थित जनसमुदायले ताली र उत्साहका साथ स्वागत गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button