विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २७ बैशाख २०८२ शनिवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर-२,भकुण्डेमा पूर्व प्रहरी हबल्दार सीता धिताल कंडेलको विभत्स हत्या भएको एक महिना पुग्दापनि अझै हत्यारा पत्ता लागेको छैन । प्रहरीको अस्थायी प्रहरी बिट नजिकैको आफ्नो घरमा एक्लै बस्दै आएकी ४७ वर्षीया पूर्व प्रहरी हवल्दार कंडेलको हत्या भएको घटनामा अपराधीको पहिचान भए पनि पक्राउ प्रक्रिया भने अलमलमा देखिएको छ।

हवल्दार कंडेलको शव गत चैत ३१ गते आफ्नै घरभित्रको ओछ्यानको प्लाइभित्र त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनको हत्या चैत २७ गते नै भएको हुन सक्ने आशंका गरेको छ। प्रहरीका अनुसार-शव घरभित्र लुकाइएको भए पनि ढोका चापी लगाएर बन्द गरिएको अवस्थामा फेला परेको थियो। यसले हत्यारा योजनाबद्ध ढंगले आएको र घटनापछि सावधानीपूर्वक बाहिरिएको संकेत गर्दछ।
पोस्टमार्टम प्रतिवेदनले पनि हवल्दार कंडेलको हत्या नै भएको पुष्टि गरिसकेको छ। तर,घटनाको एक महिना बित्दा समेत अपराधीलाई सार्वजनिक गर्न नसक्नुले प्रहरी अनुसन्धानको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।
हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको छ। तर भाग्ने सम्भावनाका कारण नाम गोप्य राखिएको र अनुसन्धान गोप्य रूपमा अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले प्रहार समाचारलाई जानकारी दिए ।
उनका अनुसार प्रहरी अनुसन्धानका क्रममा घटनाको दिन एक युवक सीता कंडेलको घरमा प्रवेश गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको र ती युवकसँग सीताको केही आर्थिक कारोबार रहेको त्यसपछि उ सम्पर्क विहीन भएको,सो युवकको मोबाइल फोन बन्द रहेको र हालसम्म परिवार तथा नातागोता कसैसँग पनि सम्पर्कमा नरहेको प्रहरी प्रमुख बोहराले बताए ।
ती व्यक्ति भारततर्फ फरार भएको आशंका गरिएको र खोजी भारत सम्म फैलाइएको छ। उनलेे भने । मृतक हवल्दार सीता कंडेल घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा र बुहारी अष्ट्रेलियामा बसोबास गर्दै आएका छन्। छोरा अभिनास कंडेलले लामो समय सम्म आमासँग सम्पर्क हुन नसकेपछि छिमेकीलाई फोन मार्फत अवस्था बुझ्न भनेका थिए।
छिमेकीहरूले बुज्दा घरको ढोकामा बाहिरबाट चाविलगाएको र घर नजिक जादा दुर्गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोली पुगेर घरको ढोका फोड्दा ओछ्यानको प्लाइभित्र त्रिपालले बेरिएको अवस्थामा उनको शव फेला परेको थियो।
यस् घटनाले प्रहरी बिटको अगाडि यस्तो गम्भीर अपराध हुनु र लामो समयसम्म अपराधीको धरपकड हुन नसक्नुमा लमजुङ जिल्लाको सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्न उठेको स्थानीयहरु बताउँछन् । स्थानीयवासी र सुरक्षासम्बन्धी जानकारहरूले यस्ता घटनामा छिटो अनुसन्धान टुंग्याएर दोषी पत्ता लगाई सार्वजनिक गर्न प्रहरी प्रशासन प्रति दबाब बढाइरहेका छन्।

























