प्रहार समाचार । तनहुँ, १७ बैशाख २०८१ बुधवार । आज अक्षय तृतीया पर्व मनाइँदै छ । जौको सातु र सर्वत दान एवं सेवन गरी यो पर्व प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइन्छ ।

शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर खुदो र जौको सातु मिसाएर सर्वत बनाई खाने र दान गर्ने वैदिक सनातनी परम्परा छ ।
आज सबेरै उठेर स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने र आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा सक्नेले गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख छ । आजको दिन कृषकहरुले केरा रोपेको खण्डमा हरेक चाड पर्वमा केरा तयार हुने/ पाक्ने हुनाले पनि केरा सार्ने प्रचलन पनि कृषकहरुमा रहेको पाइन्छ।


















