• शंकरराज नहर्की । तनहुँ, १७ बैशाख २०८२ बुधवार । तनहुँका कुमाल समुदायको मौलिक संस्कृति पाँउदुरे नाँच पुस्तान्तरण कार्यक्रम सुरु भएको छ। जिल्लाको व्यास नगरपालिका वडा नं. -९, कलेस्ती कुमाल गाउँमा सोमबारबाट सुरु भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताए ।

संस्कृति लोप भए पहिचान लोप हुने र पहिचान लोप भए अस्तित्व नै सकिने भएकाले संस्कृतिलाई जीवन्त राख्न पुस्तान्तरण गरिनु जरुरी रहेको श्रेष्ठको भनाई थियो । श्रेष्ठले सस्कृति हराए पहिचान गुम्ने हुँदा आफ्नो मौलिक संस्कृतिमा विशेष चासो र ध्यान दिन कुमाल समुदायलाई सुझाए ।

अहिलेका पुस्ताले पाउँदुरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको सहयोग गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुरहरि आचार्यले बताए । कुमाल समुदायको मौलिक संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणका लागि नाच पुस्ता हस्तान्तरण कार्यक्रमलाई सहयोग गरिएको भनाई छ।
व्यास नगरपालिकाका प्रवक्ता तथा वडा ९ का वडाध्यक्ष सुरेश थापाले संस्कृति संरक्षणमा कुमाल समुदाय जागरुक हुनु अत्यन्त प्रशंसनीय कार्य भएको बताए । कुमाल समाज नेपाल तनहुँका अध्यक्ष लोकबहादुरले कुमा समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँ र घिरिङ गाउँपालिकामा विशेष पर्वमा नचाउने गरिने जानकारी दिँदै यो नाचको आफ्नै छुट्टै विधि भएकाले प्रशिक्षण प्रदान गर्नु परेको उल्लेख गरे । कुमालका अनुसार नाचका विभिन्न चरण हुने गर्दछ । रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ । रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएतापनि भाव एउटै हुन्छ । नेपाली मौलिक संस्कृति र कुमाल जातिको संस्कृतिसँग जोडिएको पाउदुरे नाचलाई पुर्नजीवित गराउन आफूहरू जुटेको व्यास नगरपालिका–१० अधँरीभन्ज्याङ निवासी रीता कुमालले बताइन् ।
एक हप्ते उक्त पुस्तान्तरण कार्यक्रममा कुमाल समुदायहरुको भाषा, संस्कृति, रितिरिवाज, चाडपर्व, परम्परा, मूल्य, मान्यता आदिको प्रशिक्षण प्रदान गरिने जनाइएको छ। उक्त कार्यक्रममा कुमाल समुदायमा व्याप्त रहेको अशिक्षा अन्धविश्वास, विकृति, विसंगतिहरुको निराकरण गर्न, आत्मनिर्भर र स्वावलम्वी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुमालले बताए ।

जिल्लाको विभिन्न भु-भागमा छरिएर बसोबास गर्ने कुमाल समुदायहरुलाई एउटै थलोमा जम्मा गरेर उत्त पुस्तान्तरण कार्यक्रममा दल बहादुर कुमालले प्रशिक्षक प्रदान गरेका छन्। जिल्लामा भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । यस्तै जिल्लामा कुमाल समुदायको जनसङ्ख्या ८ हजार ७ हजार २७ रहेको तत्याङ्कमा उल्लेख छ।
सामाजिक विकास कार्यालय तनहुँ र कुमाल समाज नेपाल तनहुँले पाउदुरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् । प्रशिक्षण बैशाख २१ गते सम्म सञ्चालन हुने छ।


















