हेडलाईनसमाचारसाहित्यगण्डकीनगरपालिका /गाउँपालिका

शान्ति र विकासको पक्षमा कलम चलाउन लेखकलाई आग्रह

प्रहार समाचार । तनहुँ, १६ बैशाख २०८१ मङ्गलवार । लेखकहरूलाई शान्ति र विकासको पक्षमा पक्षमा कलम चलाउनु पर्नेमा जोड दिईएको छ । नेपाली लेखक सङ्घ तनहुँले तेस्रो राष्ट्रिय लेखक दिवसको उपलक्ष्यमा मङ्गलबार दमौलीमा गरिएको साहित्यिक रचना वाचन कार्यक्रममा वक्ताहरुले सो आग्रह गरेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले देशमा भएको परितर्वन रक्षा, शान्ति र समृद्धिको पक्षमा कमल चलाउनु पर्ने बताए । हजारौंको बलिदानी, त्याग र ठुलो सङ्घर्षबाट सङ्घीयता आएको उल्लेख गर्दै यसको पक्षमा कलम चलाउनु पर्ने श्रेष्ठले जोड दिए ।  सूचना र प्रविधिको युगमा पत्रकारिताले समाज परिवर्तनमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गर्दै उनले जनतालाई निराशा नभई आशा जगाउने गरी कलम चलाउन समेत आग्रह गरे । 

व्यासका अध्यता तथा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उप कुलपति काशीनाथ न्यौपाने शान्ति र आध्यात्मको ज्ञान विना विकास सम्भव नभएको तर त्यस सम्बन्धमा लेखकले कम कलम चलाउनु पर्ने बताए ।

नेपाली लेखक सङ्घ तनहुँका अध्यक्ष शङ्करराज नहर्कीको सभापतित्वमा सम्पन्न उत्त कार्यक्रममा नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले समृद्धिको पक्षमा निडरका साथ चलाउन आम लेखक हरुलाई आव्हान गरे ।

कार्यक्रममा व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, व्यास नगरपालिका वडा नम्बर २ का कार्यबाहक वडाध्यक्ष सुरेश वाग्ले,  पूर्व अध्यक्षहरु गौकुमारी न्यौपाने, वरिष्ठ अधिवक्ता कमलमोहन वाग्ले, उपाध्यक्ष कृष्णहरी गैहे, प्रगतिशिल लेखक सङ्घ तनहुँका अध्यक्ष बिनोदकुमार बिक, सहित्यकारहरु डा. रघुनाथ न्यौपाने, भाग्यशाली ढुङ्गाना, चक्रबहादुर अधिकारी, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारी, महिला उद्यमी सङघ तनहुँका अध्यक्ष निर्मला मल्ल, सेता गुराँस बालविकास केन्द्रका अध्यक्ष शुसिला शर्मा, लायन्स क्लब अफ तनहुँ सत्यवतीका अध्यक्ष पवित्रा खनाललगायतले नेताको भाषणले भन्दा सहित्यको माध्यमबाट आएका कुराहरु जनताको मनमा बस्ने भएकोले चेतना मुलक कुरालाई प्राथमिकता दिएर कलम चलाउन आग्रह गरेका थिए ।

सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना भएको थियो । काठमाडौंमा रहेको सामाजिक संस्था सरस्वति गुठीका ४५ जना कवि, लेखक, साहित्यकार र बुद्धिजीवीहरूले वि. सं. १९८७ मा पुस्तकालयहरू स्थापना गर्न माग गरेका र माग गर्नेहरूलाई बोलाएर राणा प्रधानमन्त्री भीम शम्शेरले जरिवाना गराएको बैशाख १६ गतेको त्यो दिनलाई दिवसका रुपमा मनाउने निर्णय गरिए पछि दिवस मनाइएको कार्यक्रममा जानकारी दिईएको थियो । त्यो घटनालाई इतिहासमा लाइबेरी पर्व पनि भनिने गरेको बताउँदै चेतनाको दियो जलाई समाजमा जागरण ल्याउन अहम् भूमिका निर्वाह गर्दा दण्ड भोगेका ४५ जनाको सम्झना र सम्मानमा राष्ट्रीय लेखक दिवस मनाइएको जानकारी दिईएको थियो । 

वि.सं.२००८ सालमा विपी कोइराला, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्य सम्राट बालकृष्ण सम, ऋद्धिबहादुर मल्ल लगायतका स्रस्टाहरूले स्थापना गरेको नेपाली लेखक संघको ऐतिहासिक पृष्ठभूमिबारे कार्यक्रमका वक्ताहरूले जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण सचिव अन्जना तिमिल्सिनाले गरेकी थिइन्। 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button