हेडलाईनसमाचारबन्दीपुरगण्डकीमनोरञ्जन

तनहुँको बन्दीपुर-२, मुच्चुकमा रहेको मुकुन्देश्वरी मन्दिरमा चैते दशैं मेला सम्पन्न

प्रहार समाचार । तनहुँ, २४ चैत २०८१ आइतवार । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं २, मुच्चुकमा रहेको मुकुन्देश्वरी मन्दिरमा चैते दशैं मेला सम्पन्न भएको छ। तस्विरहरु : प्रहार अनलाईन मिडिया

मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्दै बन्दीपुर धार्मिक, ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण रहेकाले यसको पर्यटन प्रवर्धनमा प्रदेश सरकार कतिबद्ध रहेको बताए।

पालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पर्यटन प्रवर्द्धन गर्न मुकुन्देश्वरी मन्दिरको प्रचारप्रसार र विकासमा पालिका लागि परेको बताए।

कार्यक्रममा पालिकाका उपाध्यक्ष पंञ्चमायाँ गुरुङ, कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य एवं मन्दिरका सल्लाहकार रेशम गुरुङ, नेकपा समाजवादीका प्रदेश सदस्य श्रीप्रसाद भट्टराई, बन्दीपुर ३ का वडाअध्यक्ष परमेश्वर भट्टराई लगायतले सिङ्गो बन्दीपुरको पर्यटन प्रवर्धन गर्न मन्दिरसम्म पुग्न सडक मार्ग निर्माण गरेर आकर्षक मन्दिर सहित अन्य पूर्वाधारहरु निर्माण गर्नु पर्नेमा जोड दिए ।

मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समितिका अध्यक्ष सुकुमलाल गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उल्लेख्य मात्रामा भक्तजनहरूको उपस्थिति रहेको थियो ।

सेनवंशी राजाहरूको इतिहाससँग सम्बन्धित यो मन्दिर  पाल्पाका राजा मणि मुकुन्दसेनद्वारा स्थापना गरिएको विश्वास गरिन्छ। राजा मुकुन्दसेनले यहाँ शक्तिपुञ्ज देवी खड्गमाईको पूजा गर्ने गर्थे। एक किंवदन्ती अनुसार, राजा मुकुन्दसेनले आफ्ना गुरु भट्टराई थरका ब्राह्मणको घरमा बास बस्दा, त्यहाँ रहेको खड्गमा देवी प्रकट भएकी थिइन्, जसपछि उक्त खड्गलाई मुकुन्देश्वरी शिखरमा स्थापना गरी पूजा गर्न थालियो ।

मन्दिर क्षेत्र समुद्री सतहबाट १ हजार ३ सय ४३ मिटर उचाइमा रहेको छ, जहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमचुली, गणेश, लाङटाङ लगायतका हिमशृङ्खलाहरू तथा तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपुरका विभिन्न स्थानहरू देख्न सकिन्छ ।

हालसालै बन्दीपुर गाउँपालिकाले मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न विभिन्न पहलहरू थालेको छ। मन्दिरको पुनर्निर्माण, अधुरो सिँढी मार्गको निर्माण, पदमार्ग पर्खाल निर्माण लगायतका कार्यहरू भइरहेको छन्। चीनको ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको पालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

मुकुन्देश्वरी मन्दिरसम्म पुग्न, बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चुकसम्म सवारी साधनमा यात्रा गरी, त्यहाँबाट करिब ४५ मिनेटको उकालो पैदल यात्रा पछि पुग्न सकिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button