हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचार

डा. कैनी बेलायतको  केन्ट काउन्टी काउन्सिल निर्वाचनमा लेबर पार्टीको उम्मेदवार

प्रहार समाचार । तनहुँ, १० चैत २०८१ आइतवार । बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर डा. बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिल निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएका छन्।

बेलायतको काउन्टी काउन्सिल स्थानीय निकायको सबैभन्दा माथिल्लो तह हो। करिब १६ लाख दश हजार जनसंख्या भएको केन्ट काउन्टी काउन्सिलमा डाटफोर्डसहित १२ जिल्ला छन्।

७२ डिभिजन रहेको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्ड काउन्सिल भित्र ६ वटा डिभिजन छन्।यी मध्ये डा. कैनी डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार चुनिएका हुन्। डार्टफोर्ड वेस्ट डिभिजनमा करिव १७ हजार मतदाता छन्।

उनी सन् २०१७ को संसदीय निर्वाचनमा लेबर पार्टीका तर्फबाट डाटफोर्ड निर्वाचन क्षेत्रको उम्मेदवार थिए । सन् २०१३ देखि लेबर पार्टीमा सक्रिय डा कैनी हाल लेबर पार्टी डाटफोर्ड जिल्ला समितिको कार्यकारी सदस्य र पार्टीको बिएएमई (अश्वेत र अल्पसंख्यक जातीय समुदाय) इन्चार्जको रुपमा कार्यरत छन्। तनहूँ को व्यास ११ कमलवारीमा जन्मेका डा. कैनी र उनको परिवार पञ्चायत कालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय थियो।

यो अवसरसँगै डा. कैनी बेलायतको दुई स्थानीय तह जिल्ला र काउन्टी तथा संसदीय गरी तीनै स्तरको निर्वाचनमा बेलायतमा उम्मेदवार हुने नेपाली समुदायबाट पहिलो बनेका छन् । सन् २०१७ को संसदीय निर्वाचनमा उपविजेता भएपनि डा कैनीले सम्मानजनक १८,०२४ मत प्राप्त गरेका थिए।

बेलायतमा हरेक वर्ष मे पहिलो बिहिबार स्थानीय निर्वाचन हुन्छ। देशभरका स्थानीय निकायमध्ये हरेक वर्ष केही निकायको निर्वाचन हुन्छ। बेलायतमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पदावधि चार वर्षको हुन्छ। यो वर्ष सन् २०२५ को मे १ मा १४ काउन्टी काउन्सिलहरू, ८ एकात्मक प्राधिकरणहरू र १ महानगर वा मेट्रोपोलिटन बरो काउन्सिलको निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने मिति अप्रिल २ तारिख ४ बजेसम्म रहेको डा. कैनीले बताए।यो निर्वाचनमा डा कैनीको मुख्य एजेन्डा स्थानीय पूर्वाधार सुधार, स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूलाई सुदृढ गर्ने, युवाहरूका लागि शिक्षा र अवसरहरू बढाउने, यातायात सेवाहरु सुदृढ, सामाजिक न्याय प्रवर्द्धन, सबैका लागि अवसरहरू सुनिश्चित गर्ने, स्थानीय व्यवसायहरूलाई समर्थन, डाटफोर्डमा आर्थिक विकासलाई अगाडि बढाउने आदि रहेको उनले  बताए।

स्वास्थ्य व्यवस्थापन क्षेत्रमा नेपाल र बेलायत गरी ३३ वर्ष भन्दा बढीको अनुभव संगालेका डा. कैनी हाल बेलायतको एक विश्वविद्यालयमा स्वास्थ्य व्यवस्थापनको सिनियर लेक्चररको रुपमा कार्यरत छन् । सन् २००५ देखि डाटफोर्डमा बसोबास गर्दै आएका डा. कैनी अस्पताल व्यवस्थापनको चार र नेपाली साहित्यमा छ गरी दश वटा पुस्तकको लेखक पनि हुन्।

डा. कैनीले मे १, २०२५ मा हुने निर्वाचनमा आफ्ना मतदातासँग मतदानको अपिल जारी गरेका छन् । साथै, बेलायत बस्ने सम्पूर्ण नेपाली समुदायसँग पनि उनले सक्रिय सहयोगको अपेक्षा गरेका छन्। – नेपालीलिङबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button