प्रहार समाचार । २९ फागुन २०८१ बिहीवार । तनहुँकाे डुम्रेमा जारी चाैथाे डुम्रे साँस्कृतिक महाेत्सवमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएको छ। यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बालबालिकाहरुलाई समेत निशुल्क गरिएको छ।

दर्शकहरुको मागलाई ध्यानमा राखेर महोत्सलाई थप चलायमान बनाउन उक्त व्यवस्था गरिएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । यसै बिच आज बिहीबार साँझ कन्सर्ट हुने भएको छ । पछिल्लो समय दर्शकको राेजाइमा पर्न सफल ब्ल्याकफेदरकाे कन्सर्ट हुने महाेत्सवका कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । युवाहरूको चाहनालाई ध्यानमा राखी कन्सर्ट राखिएको संयाेजक श्रेष्ठले जानकारी दिए ।

हरेक दिन राष्ट्रिय कलाकार ल्याइ दर्शककाे मन जित्दै आएकाे महाेत्सवमा खासगरी युवा पुस्तालाई ध्यानमा राखी कन्सर्ट थप गरिएको उनको भनाई छ ।
यस्तै महाेत्सवमा फरक अनुभवकाे आनन्द दिन सुनामी पिङ राखिएको छ । सुनामी खेल खेल्न पहिलो दिनमै दर्शकको ठुलो भीड लागेको थियो । यस्तै महाेत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खाेलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको बताइन्छ । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ ।

महाेत्सवमा आज गायकहरु रूपक डोटेल, शान्तिश्री परिचार, रमेशराज भट्टराई, रेनुका भट्टराई, सुभाष गुरुङ, सिता विसी लगायतका कलाकारहरूले मनाेरञ्जन दिने भएका छन्। यस्तै महाेत्सवमा खुला दाेहाेरी प्रतियोगिता समेत भइरहेको छ महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।

यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट, नेपाल टेलिकमको (एनटिसि) काे सिमकार्ड निशुल्क लगायतका सुविधाहरू समेत व्यवस्था मिलाइएकाे छ ।
‘व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा’ भन्ने मुख्य नारा सहित गत बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास लिएका छन्।


























