प्रहार समाचार । तनहुँ,१ माघ २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिका वडा नं १० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ ।

उक्त केन्द्रको नगर प्रमुख वैकुण्ठ न्यौपानेले आज एक कार्यक्रमका विच उद्घाटन गर्दै उत्पादक र उपभोक्ताहरू प्रत्यक्ष रूपमा जोडिने र स्थानीय उत्पादनको सहज बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘केन्द्र सञ्चालनका लागि कार्य विधि बनाएर दिगो रूपमा अगाडी बढाइने छ। ‘ – नगर प्रमुख न्यौपानेले भने ।

कृषकहरूको उत्पादन खेर नजाओस् र उचित बजार मूल्य प्राप्त गर्न सकोस् भन्नेमा चिन्तित भएकोले केन्द्र सञ्चालनको लागि आर्थिक सहयोग गरिएको नगर प्रमुख न्यौपानेको भनाई थियो ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दुध, माछामासु, फलफूल तथा तरकारीजन्य वस्तुहरूको आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउने र निर्यात समेत गर्ने गरी उत्पादनमा लाग्नु पर्नेमा जोड दिए ।

केन्द्र गाउँमा उत्पादित माछामासु, दुध, तरकारी, फलफूललगायतका कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारीकरण गर्न सञ्चालन गरिएको हो ।
वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीयस्तरमा उत्पादित नगदेबाली, बेमौसमी तरकारी, अन्नबालीलगायतका कृषि उपज बिक्री वितरणका लागि किसानले बजार खोज्दै हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न मद्धत पुग्ने बताए ।

कार्यक्रममा नम्बर १० का वडा सदस्य यज्ञप्रसाद शर्मा, शिसुवा भतेरी कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेल, निर्वतमान वडाध्यक्ष तुलसीराम सापकोटा, नगर कार्यपालिका सदस्य चन्द्रमायां परियार, छाङ्गबाराही टोल विकास संस्थाका अध्यक्ष दयाराम शर्मा लगायतले केन्द्रले वडा नं १० का अतिरिक्त ७,६,५ लगायतका वडाका कृषकहरुलाई राहत पुग्ने बताएका थिए ।

कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएसँगै स्थानीय किसान खुसी भएका छन्।
त्यस अवसरमा केन्द्रको भवन निर्माण उपभोत्ता समितिका अध्यक्ष गोपाल सापकोटालाई सम्मान गरिएको थियो । व्यास नगरपालिकाको ३५ लाख ५१ हजार सहयोग र बाँकी जनश्रमदान गरी ४० लाख ७४ हजार तीन सय ५९ रुपियाँ लागतमा निर्माण गरिएको समितिका सचिव भरत केसीले जानकारी दिए ।
केन्द्र सदरमुकाम दमौली बजार नजिकै रहेकोले यहाँ छरिएर रहेको कृषि उपजको सङ्कलन गरी बजार सम्म पुऱ्याउन सहज हुने विश्वास लिइएको छ ।
केन्द्रका आठ वटा सटरमा चार वटा कोठा बनाई दुध, तरकारी तथा फलफूल, माछामासु र दाना बिक्री कक्षा सञ्चालन गरिएको छ । सोही अवसरमा दुम्सी दुग्ध उत्पादक सहकारी सस्थाद्धारा दुध ढुवानीको लागि खरिद गरिएको ट्रकको नगर प्रमुख न्यौपानेले रिवन काटेर उद्घाटन गरेका थिए ।



























