प्रहार समाचार । तनहुँ ५ असोज २०८१ शनिवार । तनहुँको व्यास नगरपालिका वडा नं १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पस र स्मार्ट पानी प्रालि, पुलचोक ललितपुर बीच क्याम्पसमा सुरक्षित पिउने पानीको प्रबन्ध मिलाउनका लागि दुई संस्था बीच सहकार्यको सम्झौत भएको छ।

हिजो क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको उपस्थितिमा स्मार्ट पानी प्रालीका तर्फबाट प्राविधिक निर्देशक हेम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

उक्त सम्झौतामा क्याम्पसले प्रयोगमा ल्याएको खानेपानीलाई सरकारले तोकेको मापदण्ड अनुरूप सुरक्षित र पिउन योग्य बनाउनको लागि आवश्यक भौतिक पूर्वाधार तथा सामग्री, सेवा, परामर्श, तालिम र प्राविधिक सहयोग स्मार्ट पानी प्रालिले क्याम्पसलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
स्मार्ट पानी प्रालीले क्याम्पसलाई सुरक्षित खानेपानी सङ्कलन वितरण र प्रशोधन गर्नका लागि ४ लाख ४ लाख ८ हजार ५ सय असि रुपैया बराबरको खानेपानीको सामग्री र प्राविधिक सेवा अनुदान सहायता उपलब्ध गराएको छ।
आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्ष बुद्धिमान श्रेष्ठ र विद्यालय व्यवस्थापन समिति महासङ्घ तनहुँका अध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका सदस्य विष्णु भक्त न्यौपाने समेतको पहलमा स्मार्ट पानी प्रालीका प्राविधिक निर्देशक र प्राविधिकहरू गत भदौ २७ गतेदेखि क्याम्पस लगायत ब्यास नगरपालिका भित्रका शैक्षिक संस्थाहरूमा सुरक्षित पिउने पानीको व्यवस्था मिलाउनका लागि खानेपानी सङ्कलन र प्रशोधनका सामग्री र प्राविधिक सेवा प्रदान गर्दै आइरहेको क्याम्पस प्रमुख हड्खलेले बताए ।
उक्त स्मार्ट पानी प्रालीले निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय,शिव पञ्चायन माध्यमिक विद्यालय र सर्वज्योति माध्यमिक विद्यालय लगायतका विद्यालयहरूमा लाखौँ रुपैयाँको खानेपानीको सामग्री र प्राविधिक सहयोग अनुदान सहायता उपलब्ध गराएको छ। हाल ति विद्यालयहरूमा अध्ययन अध्यापन गर्ने शिक्षक कर्मचारी र विद्यार्थीहरूका लागि सुरक्षित पिउने पानीको व्यवस्था भएको स्मार्ट पानी प्रालीका प्राविधिक राजिव श्रेष्ठले बताए ।

स्मार्ट खानेपानी प्राली नेपालका सुगम तथा दुर्गम गरी विभिन्न जिल्लामा पुगेर सयौंको संख्यामा सरकारी तथा गैरसरकारी संघ संस्थाहरूसँग साझेदारी गर्दै खानेपानीका लागि जनस्तरमा भौतिक पूर्वाधार र प्राविधिक सेवा पुर्याउँदै सुरक्षित पिउने पानीको प्रबन्ध मिलाउने सेवाको कार्यमा जुटेको गैरसरकारी संस्थाको परिचय स्थापित गरेको संस्था रहेको बताइएको छ।

























