प्रहार समाचार । तनहुँ ४ असोज २०८१ शुक्रबार । तनहुँको व्यास नगरपालिका वडा नं १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा तनहुँका माध्यमिक तहका विज्ञान विषय शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि कार्यशाला आज सम्पन्न भएको छ।

कार्यशालाकोको शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले उद्घाटन गर्दै माध्यमिक तहको विद्यार्थीको सिकाइ उपलब्धिलाई उकास्नका लागि प्रदेशले गरेका प्रयासहरूको विस्तारपूर्वक जानकारी गराउँदै शिक्षकहरूको विषयवस्तुको ज्ञान, प्रश्नपत्रको संरचना र निर्माण सिप र व्यवहारिक मूल्याङ्कन सम्बन्धी ज्ञानले मात्र विद्यार्थीहरूको सिकाई उपलब्धीमा वृद्धि ल्याउन सकिने बताए । महानिर्देशक आचार्यले यस्ता क्षमता अभिवृद्धि तालिमले विद्यार्थीको विज्ञान विषयको नतिजामा सुधार ल्याउन सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रश्नपत्र निर्माण तथा मूल्याङ्कनमा केन्द्रित उक्त कार्यशालाको उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले गोष्ठीका अतिथि र सहभागीहरुलाई स्वागत गर्दै क्याम्पस समुदायको शैक्षिक सुधार गर्नका लागि आफू पनि एउटा उत्तरदायी संस्थाको रुपमा रहेको हुँदा यस तालिमको आयोजना गरिएको बताए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तालिमको उपादेयताको बारेमा प्रकाश पार्दै सिकेको ज्ञान र सिपलाई व्यवहारिक रूपमा कक्षाकोठामा प्रयोग गर्नु पर्ने बताए ।

उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराम ढुङ्गाना, सहायक क्याम्पस प्रमुख सागर पौडेल, आइक्यूएसी प्रमुख विश्वेश्वर तिमल्सेना, विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष देवराज अधिकारी, क्याम्पसका प्राध्यापक र स्नातक तहमा विज्ञान शिक्षा विषय अध्ययनरत विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

त्यस अवसरमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका प्रा डा अक्कलदेव मिश्र र पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत लवदेव भट्टले सहभागीहरुलाई प्रश्नपत्र निर्माण र प्राक्टिकम तथा मूल्याङ्कन सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा व्यास ,भानु , शुक्ला गण्डकी र भिमाद नगरपालिका साथै आँबुखैरेनी ,बन्दीपुर गाउँपालिका गरी ८ वटा पालिकाका ३४ वटा सामुदायिक विद्यालय र नौवटा निजी विद्यालय गरी ४६ वटा माध्यमिक विद्यालयका ५० जना विज्ञान शिक्षक / शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

यस वर्षको एसईई परीक्षमा विज्ञान विषयको नतिजा सन्तोषजनक नहुनुको कारणहरुमा – प्रश्नपत्रको स्तर सर्वत्र आँकलन गरे जस्तो नहुनु , प्रश्नपत्रको ढाँचाको बारेमा विद्यार्थीहरू अवगत नहुनु, विज्ञानको प्राक्टिकमको ढाँचाको बारेमा विज्ञान शिक्षक र विद्यार्थीहरूलाई कम जानकारी हुनु, सरोकारवाला निकायले पर्याप्त प्रवोधिकरण नगर्नु, अध्यापनको विधि प्रभावकारी नहुनु जस्ता कारणहरू जिम्मेवार रहेको सहभागीहरूले औंल्याएका थिए ।

कार्यक्रमको समापन सत्रमा स्रोत व्यक्तिहरूको तर्फबाट प्राध्यापक डा अक्कलदेव मिश्र , सहभागीहरूको तर्फबाट विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष एवं बाराही मावि, फरकचौरका विज्ञान शिक्षक देवराज अधिकारी र जनजागृति गङ्गा मावि पोखरी भन्ज्याङका विज्ञान शिक्षक आशा खड्काले कार्यशालाको अनुभव व्यक्त गरेका थिए । कार्यक्रम विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

























